फिल्म वितरक रोहित कट्टेल पहिलोपटक फिल्म निर्माणमा आएका छन्। आरआर फिल्म्सका सञ्चालक कट्टेल फिल्म ‘मिरमिरे’ मार्फत कार्यकारी निर्माता बनेका हुन्।
लामो समयदेखि फिल्म वितरण गर्दै आएका कट्टेल किन निर्माणमा आए भन्ने प्रश्नको जवाफ उनी कथामै देख्छन्। निर्देशक यम शेर्पाले सुनाएको कथाले आफूलाई आकर्षित गरेपछि निर्माणमा लगानी गर्ने निर्णय गरेको उनको भनाइ छ।
“निर्माणका हिसाबले मिरमिरे मेरो तेस्रो फिल्म हो,” रोहित भन्छन्, “जब निर्देशक यम शेर्पाले कथा सुनाउनुभयो, त्यो मलाई मन पर्यो। राम्रो कथामा फिल्म बनाउन प्रस्ताव आएपछि सहकार्य नगर्ने कारण देखिनँ।”
बाबु–छोरीको सम्बन्धमा आधारित कथाले आफूलाई गहिरो रूपमा छोएको रोहित बताउँछन्। “यो हामी सबै नेपालीको कथा हो, घरघरको कथा,” उनी भन्छन्, “धेरैले भोगेको र देखेको यथार्थ भएकाले सुन्नासाथ यो कथासँग जोडिन पुगेँ।”
राम्रो कथामा आधारित फिल्म निर्माणका लागि आफू सधैं तयार रहने रोहितको भनाइ छ। कहिले वितरण त कहिले निर्माणमार्फत दर्शकमाझ राम्रो फिल्म पुर्याउनु आफ्नो दायित्व भएको उनी बताउँछन्।
यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको ‘मिरमिरे’ माघ १ गतेदेखि प्रदर्शनमा आउँदै छ। यार्सा फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको फिल्मका सह–निर्माता गोविन्द बोहरा र सुदीप कुँवर हुन्। आरआर फिल्म्सका सञ्चालक रोहित कट्टेल कार्यकारी निर्माता रहेका छन्।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्। ‘मिरमिरे’ को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।