काठमाडौँमा पहिलोपटक अत्याधुनिक तथा अन्तर्राष्ट्रिय स्तरको डल्बी एटमस (Dolby Atmos) साउन्ड मिक्सिङ तालिम सुरु भएको छ। म्युजिक नेपालको आयोजनामा, फिल्म विकास बोर्डको सक्रिय सहयोग तथा भिजुअल सोसाइटी अफ नेपाल (AVSN) को सहआयोजनामा यो तालिम सुरु गरिएको हो।
म्युजिक नेपालद्वारा स्थापना गरिएको डल्बी अडियो साउन्ड मिक्सिङ स्टुडियो ‘सगरमाथा’मा नेपाली फिल्म क्षेत्रमा कार्यरत साउन्ड मिक्सिङ प्राविधिकहरूका लागि घनिभूत तालिम प्रदान गरिँदैछ। तालिम सञ्चालनका लागि भारतीय फिल्म उद्योगका चर्चित तथा डल्बीबाट सर्टिफाइड साउन्ड इन्जिनियर भरत रेड्डी नेपाल आएका छन्।
भरत रेड्डी थ्री इडियट्स, सैयारा, पुष्पा, सितारे जमीन पर, थामा, धुरन्धर तथा आउन लागेको टक्सिक जस्ता चर्चित फिल्महरूसँग जोडिएका छन्। उनी डल्बी सर्टिफाइड ट्रेनरसमेत हुन्।
तालिम सुरु हुनुअघि फिल्म विकास बोर्डका अध्यक्ष दिनेश डिसी र बोर्ड सदस्य वीरेन्द्रप्रसाद भट्टले भरत रेड्डीलाई फूलको गुच्छा र Filming in Nepal पुस्तक प्रदान गर्दै स्वागत गरे। सो अवसरमा अध्यक्ष डिसीले तालिमले नेपाली फिल्मको प्राविधिक गुणस्तरलाई विश्वस्तरमा पुर्याउने विश्वास व्यक्त गरे।
डल्बीबाट सर्टिफाइड म्युजिक नेपालको ‘सगरमाथा’ स्टुडियो दक्षिण एसियाका सीमित १० वटा स्टुडियोमध्ये एक हो भने नेपालकै पहिलो डल्बी एटमस साउन्ड मिक्सिङ स्टुडियो हो।
घनिभूत तालिमपछि स्टुडियोको औपचारिक उद्घाटन माघ २ गते पिङ्गलास्थान, गौशाला, काठमाडौँमा नेपाली फिल्मकर्मीहरूको उपस्थितिमा गरिने म्युजिक नेपालले जनाएको छ। स्टुडियो सञ्चालनमा आएपछि नेपाली दर्शकले फिल्म हेर्दा विदेशी फिल्मसरह उच्चस्तरीय साउन्ड अनुभव पाउने अपेक्षा गरिएको छ।