केही वर्षदेखि ठूलो पर्दामा मुख्य नायकको रूपमा नदेखिएका नायक आकाश श्रेष्ठ अब फिल्ममा पुनरागमन गर्ने पक्का भएको छ। यसबीच उनले केही फिल्ममा केमियो भूमिका निभाए पनि मुख्य भूमिकामा भने देखिएका थिएनन्।
थुप्रै म्यूजिक भिडियोमा सक्रिय रहे पनि आकाश राम्रो कथाको प्रतिक्षामा फिल्म साइन नगरेको बताउँदै आएका थिए। अब भने उनको प्रतिक्षा टुंगिएको छ। आकाशले निर्देशक रुपेश तामाङको अनटाइटल एक्सन फिल्मबाट मुख्य नायकको रूपमा कमब्याक गर्न लागेका हुन्।
यसअघि ‘जय शम्भु’ र ‘दान्भी’ जस्ता एक्सन फिल्म निर्देशन गरिसकेका रुपेश तामाङसँग आकाशले माघे संक्रान्तीको अवसर पारेर औपचारिक सम्झौता गरेका छन्। फिल्मलाई पूर्ण रूपमा एक्सन जनरामा निर्माण गरिने र आकाशलाई अहिलेसम्म नदेखिएको अवतारमा प्रस्तुत गरिने निर्देशक तामाङले बताएका छन्।
फिल्मप्रति आकाश पनि निकै उत्साहित देखिएका छन्। उनले दर्शकको लामो प्रतिक्षालाई विशेष बनाउने दाबी गरेका छन्।
फिल्मको कथा सुमन गजमेरले तयार पारेका हुन्। छायांकन फागुनको अन्तिम साताबाट सुरु गर्ने तयारी गरिएको छ। फिल्मको नाम, अन्य कलाकार तथा प्राविधिक टिमको विवरण क्रमशः सार्वजनिक गर्दै जाने निर्माणपक्षले जनाएको छ।
जुना फिल्म्सको ब्यानरमा निर्माण हुने यो फिल्मलाई लिएर दर्शकमाझ उत्सुकता बढ्न थालेको छ।