नेपालमै सुरु भयो विश्वस्तरीय डल्बी एटमस पोस्ट–प्रोडक्सन स्टुडियो

0 Shares

काठमाडौँ — अब नेपालमै विश्वस्तरीय डल्बी एटमस गुणस्तरको ध्वनिसहित फिल्म र संगीतको पोस्ट–प्रोडक्सन सम्भव हुने भएको छ। अग्रणी सांगीतिक कम्पनी ‘म्युजिक नेपाल’ ले मुलुकमै पहिलोपटक डल्बी एटमसद्वारा मान्यताप्राप्त पोस्ट–प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको हो।

चार दशक लामो सांगीतिक इतिहास बोकेको म्युजिक नेपालले ‘म्युजिक नेपाल अडियो भिजुअल’ कम्पनीको औपचारिक शुभारम्भ गरेको छ। गौशाला–पिंगलास्थानस्थित नेपाल संगीत विद्यालय परिसरमा स्थापना गरिएको स्टुडियोको घोषणा शुक्रबार आयोजित समारोहमार्फत गरिएको हो।

म्युजिक नेपालका प्रमुख सन्तोष शर्माका अनुसार स्टुडियो शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ। दक्षिण एसियामा भारतपछि डल्बीले नेपालमा स्टुडियो विस्तार गरेको यो पहिलो उदाहरण हो। स्टुडियो सेटअपदेखि सञ्चालनसम्म डल्बी भारतका निर्देशक समीर सेठ तथा वरिष्ठ साउन्ड इन्जिनियरहरू दमन सुद र भरत रेड्डी काठमाडौंमा सक्रिय छन्।

बलिउडका सुप्रसिद्ध साउन्ड इन्जिनियर दमन सुदले सन् १९९१ मै म्युजिक नेपालको पहिलो र दोस्रो स्टुडियो सेटअप गरेका थिए। यश चोपडा, करण जोहर र संजय लीला भन्सालीजस्ता चर्चित फिल्ममेकरसँग काम गरिसकेका सुद पछिल्लो समय नेपालमै कार्यरत छन्।

स्टुडियोमा एडिटिङ, डीआई, रेकर्डिङ, ७.१ प्रि–मिक्स र डल्बी एटमस मिक्सिङसहित फिल्मका सबै पोस्ट–प्रोडक्सन कार्य हुनेछन्। “सुटिङपछि आवश्यक पर्ने सबै काम यहीँ सम्भव हुन्छ,” शर्माले बताए।

करिब १० करोड रुपैयाँ लागतमा तयार भएको स्टुडियोमा फिल्म तथा संगीत निर्माताले उचित शुल्कमा सेवा लिन सक्नेछन्। सुरुमा प्रोत्साहनस्वरूप छुट व्यवस्था गरिएको छ। स्टुडियो बुक गर्ने पहिलो तीन परियोजनालाई ५० प्रतिशत र जनवरी ३१ सम्म २५ प्रतिशत छुट दिने घोषणा गरिएको छ।

स्टुडियोका कक्षहरू सगरमाथा, ल्होत्से, धौलागिरी, अन्नपूर्ण, मनास्लु लगायत आठ हजार मिटरभन्दा अग्ला हिमाल र राष्ट्रिय चरा डाँफेको नाममा राखिएका छन्। सगरमाथामा एटमस मिक्स स्टेज, मनास्लुमा मल्टिपर्पस रुम, अन्नपूर्ण र डाँफेमा एडिट र डीआई कक्ष, धौलागिरीमा रेकर्डिङ र कन्ट्रोल रुम तथा ल्होत्सेमा मिक्सिङ कार्य हुनेछ।

डल्बी एटमस स्टुडियो स्थापना गर्नुको कारण स्पष्ट पार्दै शर्माले भने, “नेपाली फिल्मको कमजोर पक्ष ध्वनि हो। अन्तर्राष्ट्रिय स्तरको प्रभाव दिन यही आवश्यक थियो।” डल्बीद्वारा प्रमाणित स्टुडियो भएकाले यहाँ हलिउडस्तरको ध्वनि मापदण्ड पूरा हुने उनको दाबी छ।

केही दिनअघि डल्बीका साउन्ड इन्जिनियर भरत रेड्डीले फिल्म विकास बोर्डसँगको सहकार्यमा २० जना नेपाली व्यावसायिक साउन्ड इन्जिनियरलाई तालिम दिएका थिए।

वरिष्ठ ध्वनि प्राविधिक दमन सुदका अनुसार यो स्टुडियोले नेपाली फिल्म र संगीत उद्योगलाई दीर्घकालीन रूपमा फाइदा पुर्‍याउनेछ। “दृश्यभन्दा ध्वनि बढी महत्वपूर्ण हुन्छ। यो स्टुडियो उपकरण मात्र होइन, भविष्यका १० वर्षलाई लक्षित गरेर बनाइएको फ्युचरिस्टिक प्लेटफर्म हो,” उनले बताए। नेपाली फिल्मले अस्कर र गीतले ग्रामी जित्ने सम्भावनासमेत उनले व्यक्त गरेका छन्।

म्युजिक नेपालले गैरनाफामूलक नेपाल संगीत विद्यालय पनि सञ्चालन गर्दै आएको छ। यसमार्फत विद्यालय तहदेखि संगीत शिक्षाको प्रवर्द्धन भइरहेको छ। आगामी दिनमा कम्पनीलाई ओटीटी बजारतर्फ विस्तार गर्ने तयारीसमेत रहेको शर्माले जानकारी दिए।

सम्बन्धित समाचार

सबै