‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक, प्रेमपछि धोका र बदलाको साइकोलोजिकल थ्रिल

0 Shares

काठमाडौँ — फिल्म ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माणपक्षले शुक्रबार ललितपुरस्थित लबिम मलमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा प्रेम, छलकपट, धोका र बदलाको कथा प्रस्तुत गरिएको छ।

ट्रेलरले पात्रहरूबीचको सामिप्यता र रोमान्सबाट सुरु भएर क्रमशः धोका र बदलातर्फ मोडिने कथावस्तुलाई देखाउँछ। प्रेम नपाउँदाको मानसिक तनाव र त्यसले सिर्जना गर्ने घटनाक्रम ट्रेलरको मुख्य केन्द्रमा छ।

फिल्मको कथावस्तु पूर्ण रूपमा खुलाइएको छैन। तर, ट्रेलरले सस्पेन्स सिर्जना गर्न सफल देखिन्छ। दृश्य संयोजन, कलर टोन र सम्पादनमार्फत फिल्मको साइकोलोजिकल थ्रिलर जनरा स्पष्ट रूपमा प्रस्तुत गरिएको छ।

ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई देख्न सकिन्छ। साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको ‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन्। बाल कलाकारको रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्मा रहेका छन्।

फिल्मको निर्देशन बलिराम चौहानले गरेका हुन्। यो उनको डेब्यु निर्देशन हो। ‘द ब्ल्यू लाइट’ आगामी माघ १६ गते प्रदर्शनमा आउने तयारीमा छ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहेको फिल्ममा भोलानाथ कटुवाल र रमन ग्रे सह–निर्माताको रूपमा रहेका छन्। कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन्।

फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका हुन्। आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।

सम्बन्धित समाचार

सबै