तनहुँमा ‘सिनेमा साक्षात्कार’ कार्यक्रम सुरु, ग्रामीण क्षेत्रमा चलचित्र पहुँच र पर्यटन प्रवर्द्धनमा जोड

0 Shares

तनहुँ — चलचित्र विकास बोर्डद्वारा आयोजित पाँचदिने ‘सिनेमा साक्षात्कार’ कार्यक्रम तनहुँ जिल्लामा सुरु भएको छ। माघ २ गतेदेखि सुरु भएको यस कार्यक्रमअन्तर्गत सिनेमाहल नपुगेका स्थानमा घुम्ती सिनेमा प्रदर्शन, स्थानीय जनप्रतिनिधिसँग संस्कृति तथा चलचित्र पर्यटनसम्बन्धी छलफल, र विद्यार्थीहरूसँग चलचित्रकर्मी संवाद कार्यक्रम सञ्चालन भइरहेको छ।

कार्यक्रम म्याग्दे गाउँपालिका, बन्दिपुर गाउँपालिका तथा व्यास नगरपालिकाका केही वडाहरूमा सञ्चालन भइरहेको छ। यस क्रममा नेपाली चलचित्र ‘कोसेढुंगा’, ‘रंगी’ र लघुचलचित्र ‘खुशी’ प्रदर्शन गरिएको छ, जसले स्थानीय दर्शकमा नेपाली चलचित्रप्रतिको उत्साह र सहभागिता उल्लेखनीय रूपमा बढाएको छ।

कार्यक्रममा सहभागी चलचित्रकर्मीहरूलाई स्थानीय समुदायले परम्परागत सांस्कृतिक पहिरन र रोधी संस्कृतिसहित भव्य स्वागत गरेको छ, जसले स्थानीय संस्कृति र चलचित्रबीचको सम्बन्ध अझ सुदृढ बनाएको छ।

कार्यक्रममा ‘कोसेढुंगा’ का निर्माता तथा कलाकार दिनेश खड्का, लेखक एवं निर्देशक जनक खड्का, व्यवस्थापक सुवासराज काफ्ले, सम्पादक तथा ड्रोन पाइलट नहकुल खड्का, साथै चलचित्र विकास बोर्डका अधिकृत हरिसिंह रैखोला लगायतको टोली उपस्थित छन्।

कार्यक्रमको अवसरमा म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले चलचित्रकर्मीहरूसँग संवाद गर्दै भने, “चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न स्थानीय तह सधैं सकारात्मक र प्रतिबद्ध छ। पालिकाभित्रका पर्यटन सम्भावना भएका स्थल र छायांकन स्थलहरूको विकास, संरक्षण र प्रवर्द्धनका लागि नीति तथा बजेटमार्फत प्राथमिकता दिइएको छ।”

स्थानीय तह, विद्यार्थी र चलचित्रकर्मीबीच प्रत्यक्ष अन्तरक्रियालाई जोड्दै चलचित्र संस्कृतिको विस्तार, पर्यटन प्रवर्द्धन र ग्रामीण क्षेत्रमा सिनेमा पहुँच बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको छ। यसले नेपाली चलचित्रको महत्व, सम्भावना र सामाजिक भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै