‘कुमारी’ ट्रेलर रिलिज

0 Shares

काठमाडौंमा माघ २३ गते रिलिज हुन लागेको बहुप्रतीक्षित नेपाली प्रेमकथा फिल्म ‘कुमारी’को ट्रेलर भृकुटीमण्डपस्थित खुला मैदानमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको छ। आयोजकका अनुसार कार्यक्रममा १० हजारभन्दा बढी दर्शक प्रत्यक्ष उपस्थित थिए, जसलाई नेपाली फिल्म इतिहासमै ट्रेलर सार्वजनिकतर्फको दुर्लभ क्षणका रूपमा प्रस्तुत गरिएको छ।

खुला आकाशमुनि हजारौँ दर्शकसामु ट्रेलर रिलिज गर्न पाउँदा आफू भावुक भएको निर्देशक दिनेश राउतले बताए। उनले कार्यक्रमको उत्साह सिनेमा घरसम्म पुग्ने विश्वास व्यक्त गरे। निर्माता महेन्द्र अधिकारीले दर्शकको साथ र मायाले आफूलाई नेपाली फिल्म निर्माणमा अझ सक्रिय रहन प्रेरित गरेको प्रतिक्रिया दिए।

कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले सांगीतिक प्रस्तुति दिएका थिए। साथै ‘इस्त्रीज’ र ‘त्रिजा प्रधान एन्ड द टुकुचा’ ब्यान्डले पनि दर्शकलाई संगीतमार्फत झुमाएका थिए। सांगीतिक कन्सर्ट र ट्रेलर सार्वजनिक कार्यक्रमको संयोजनले माहोललाई उत्सवमय बनाएको थियो।

यसै फिल्मबाट डेब्यु गरेका कलाकार अबिषेक खड्का र आकृति राजभण्डारीले हजारौँ दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्दा आफूहरू अभिभूत भएको बताए। दर्शकको उत्साह र तालीले उनीहरू भावुक देखिएका थिए।

सार्वजनिक ट्रेलरले संवेदनशील र रोमाञ्चक प्रेमकथाको झलक प्रस्तुत गर्छ। प्रेमसँगै पारिवारिक सम्बन्ध, भावनात्मक द्वन्द्व र मनोवैज्ञानिक संघर्षलाई दृश्यहरूमार्फत प्रभावशाली ढंगले देखाइएको छ। अबिषेकले निभाएको पात्र संवेदनशील तर आन्तरिक द्वन्द्वमा बाँचेको युवकका रूपमा देखिन्छ, जसले मौन अभिनय र आँखाको भावमार्फत असहाय प्रेमलाई व्यक्त गर्छ। आकृतिको पात्र आत्मसम्मान, मौन विद्रोह र भावनात्मक साहसको प्रतीकझैँ उभिएको देखिन्छ।

ट्रेलरमा अभिनय, संगीत, सिनेमाटोग्राफी र सम्पादन सशक्त देखिन्छ। छायांकन सुसन प्रजापतिले गरेका छन् भने सम्पादन शाहिल खानले गरेका हुन्। कलर ग्रेडिङ सुप्रिम पराजुली र साउन्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ। ट्रेलर युट्युब ट्रेन्डिङमा प्रवेश गरिसकेको जनाइएको छ। कार्यक्रममा उपस्थित लभस्टोरी फिल्मका सुपरस्टार आर्यन सिग्देल र ‘शाम्बाला’ फिल्मकी अभिनेत्री थिन्ले ल्हामोले मुख्य कलाकारलाई शुभकामना दिएका थिए।

‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथाका लागि चिनिएका निर्देशक दिनेश राउत पछिल्ला वर्षमा ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता सामाजिक विषयका फिल्म निर्देशनपछि पुनः प्रेमकथामा फर्किएका हुन्। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘कुमारी’ महेन्द्र अधिकारीद्वारा निर्मित तथा विकास सुवेदीद्वारा लिखित फिल्म हो। यसमा अबिषेक खड्का र आकृति राजभण्डारीका साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायत कलाकारको अभिनय रहेको छ।

फिल्मका गीत ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ ले पहिले नै चर्चा बटुलिसकेका छन्। ‘डोको बुन्ने’ गीतले ५० लाखभन्दा बढी भ्युज पार गरेको अवसरमा कार्यक्रममा केक काटेर उत्सव मनाइएको थियो। सबै गीतमा स्वर केहर सिंह लिम्बुले दिएका छन् भने संगीतमा सुमन तामाङको सहभागिता रहेको छ। गीतका शब्द सागर लामिछाने मगर र सुमन तामाङले लेखेका छन्।

अब दर्शकको ध्यान माघ २३ गते प्रदर्शनमा आउने ‘कुमारी’ तर्फ केन्द्रित भएको छ।

सम्बन्धित समाचार

सबै