काठमाडौं। निर्देशक कृषा चौलागाईँको निर्देशनमा निर्माण हुन लागेको फिल्म **‘पारस’**मा अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन्। निर्माण पक्षले शनिबार उनलाई औपचारिक रूपमा फिल्मका लागि अनुबन्ध गरेको जनाएको छ।
यसअघि अभिनेता निखिल उप्रेती फिल्ममा अनुबन्ध भइसकेको जानकारी बाहिरिएको थियो। जसिता गुरुङ निखिलको अपोजिट देखिन सक्ने चर्चा रहे पनि निर्माण टिमले यो विषय आधिकारिक रूपमा पुष्टि गरेको छैन। फिल्मका अन्य कलाकारबारे पनि हालसम्म जानकारी सार्वजनिक गरिएको छैन, जसले दर्शकमाझ थप कौतुहलता बढाएको छ।
निर्देशक चौलागाईँका अनुसार फिल्मका लागि कलाकार छनोट कथा र पात्रअनुसार चरणबद्ध रूपमा भइरहेको छ। दुवै पक्षबीच कागजी सम्झौता सम्पन्न भइसकेको उनले बताइन्।
एक्सन तथा सामाजिक कथावस्तुमा आधारित ‘पारस’लाई केपी फिल्म्सको ब्यानरमा निर्माण गरिँदैछ। फिल्मको पटकथा भारतीय लेखक सचिन लादियाले लेखेका हुन् भने छायांकन चर्चित डीओपी पुरुषोत्तम प्रधानले गर्नेछन्।
निर्देशक चौलागाईँले यसअघि ‘ऐचो पैचो’ र ‘पिताम्बर’ निर्देशन गरिसकेकी छन्। ‘पारस’ उनको तेस्रो निर्देशन रहनेछ। निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी फागुनदेखि सुरु गर्ने तयारी छ।