काठमाडौं। माघ २३ गते नेपालभर प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली प्रेमकथा फिल्म **‘कुमारी’**को ओभरसिज प्रदर्शन अधिकार विभिन्न देशहरूमा बिक्री भएको छ। निर्माता महेन्द्र अधिकारीका अनुसार फिल्म अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूमा प्रदर्शन हुने निश्चित भएको हो।
अस्ट्रेलियामा असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोलोराडो, क्यानडामा मेरो इभेन्ट्स तथा मध्यपूर्वमा नेपफिल्मले वितरणको जिम्मा लिएका छन्।
निर्माता अधिकारीका अनुसार ट्रेलर सार्वजनिक भएपछि अन्य देशहरूबाट पनि प्रदर्शनका लागि माग आइरहेको छ। काठमाडौंको भृकुटीमण्डपमा १० हजारभन्दा बढी दर्शकको उपस्थितिमा ट्रेलर सार्वजनिक भएको थियो, जसपछि फिल्मले स्वदेश र विदेश दुवै स्थानबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताइएको छ। ट्रेलर युट्युब ट्रेन्डिङमा प्रवेश गर्दै करिब ८ लाख भ्युज पार गरिसकेको निर्माण पक्षको दाबी छ।
निर्देशक दिनेश राउतले विशाल दर्शक उपस्थितिमा ट्रेलर सार्वजनिक गर्नु आफ्नो सपना पूरा भएको अनुभव भएको बताएका छन्। उनले यही उत्साह सिनेमा हलसम्म पनि पुग्ने विश्वास व्यक्त गरे।
फिल्ममार्फत अबिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायत कलाकारको अभिनय रहेको छ।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन्। छायांकन सुसन प्रजापति, सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुली, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनको रहेको छ भने केदार भुसाल कार्यकारी निर्माता हुन्।
फिल्मका गीत ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ ले यसअघि नै चर्चा बटुलिसकेका छन्। विशेषगरी ‘डोको बुन्ने’ गीतले ६० लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको जनाइएको छ। सबै गीतमा केहर सिंह लिम्बुको स्वर, सुमन तामाङको संगीत र सागर लामिछाने मगर तथा सुमन तामाङका शब्द रहेका छन्।
प्रेमकथात्मक फिल्ममा सफल पहिचान बनाएका निर्देशक दिनेश राउत सामाजिक विषयका फिल्मपछि पुनः प्रेमकथामा फर्किएको ‘कुमारी’ले स्वदेश र विदेशका दर्शकको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ।