काठमाडौं, आगामी नेपाली फिल्म ‘मायाको गाउँ’मा समावेश गीत ‘सबैले भन्छन् जिन्दगी त…’ सार्वजनिक गरिएको छ। गीतमा प्रोसेस पाण्डेको स्वर, अनिल खनालका शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ।
सार्वजनिक गीतको म्युजिक भिडियोमा त्रिबिक्रम सिंह राणा, ओसिन भट्टराई, राजु गिरी, नारायण पराजुली र बिनयराज पौडेललगायत कलाकारको अभिनय देख्न सकिन्छ। पछिल्लो समय टिकटकमा चर्चामा रहेको यो गीतको भिडियो सोमबार साइराम पिक्चर्समार्फत सार्वजनिक गरिएको हो। भिडियोको कोरियोग्राफी राजु गिरीले गरेका छन्। गीतले प्रेम सम्बन्ध, धोका र भावनात्मक पीडालाई प्रस्तुत गर्छ।
प्रेमकथानक फिल्म ‘मायाको गाउँ’मा त्रिबिक्रम सिंह राणा, शीतल केसी, नारायण पराजुली, ओसिन भट्टराई, सरु कार्की, अम्बिका थापा, लक्ष्मीनाथ तिमिल्सिना, रमेश अधिकारी, माधव खनाल, किमजोङ बोस, हरिबहादुर घर्ती मगर, रितिका मगर र कृष्ण गदाललगायत कलाकारको अभिनय रहेको छ।
कमला पराजुली निर्माता रहेको फिल्मको निर्देशन कमला फिल्म्स टिमले गरेको हो। छायांकन रामेश्वर हुमागाइँले गरेका छन् भने सम्पादन श्याम रानाले गरेका हुन्। पब्लिसिटी डिजाइन बिनोद बमको रहेको छ भने गौतमराज खड्का (पेन सिजर्स एण्ड रेन्डर्स)ले कलर ग्रेडिङ गरेका छन्। मुख्य सहायक निर्देशकका रूपमा सुचेन्द्र परियार रहेका छन्।
निर्मात्री पराजुलीका अनुसार फिल्मलाई वि.सं. २०८३ सालको सुरुवाततिर दर्शकमाझ ल्याउने तयारी गरिएको छ।