काठमाडौं। निर्देशक बलिराम चौहानको डेब्यु निर्देशनमा बनेको मनोवैज्ञानिक ड्रामा–थ्रिलर ‘द ब्लू लाइट’ यही माघ १६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ। प्रदर्शनअघि नै फिल्मले दर्शकमाझ उल्लेखनीय चासो र कौतुहलता जगाएको निर्माण टिमको दाबी छ।
निर्देशक चौहानका अनुसार यो फिल्म सामान्य मनोरञ्जनका लागि मात्र नभई दर्शकले गहिराइमा अनुभव गर्ने कथा हो। फिल्मले मानव मनको जटिलता, एक्लोपन, र वास्तविकता तथा भ्रमबीचको सूक्ष्म रेखालाई कथाको केन्द्रमा राखेको छ।
ट्रेलर सार्वजनिक भएपछि धेरैले फिल्मलाई हरर विधासँग जोडेर अनुमान गरेका थिए। तर निर्देशक चौहानले स्पष्ट पार्दै भने,
“हाम्रो फिल्म हरर होइन, यो मनोवैज्ञानिक ड्रामा–थ्रिलर हो। केही दृश्यले डरको अनुभूति गराए पनि यसको मूल स्वरूप मनोवैज्ञानिक पक्षमै आधारित छ।”
नेपाली फिल्म उद्योगमा नयाँ निर्देशकहरूको आगमन र पलायनको क्रम बढिरहेको सन्दर्भमा चौहान आफूलाई फरक सोचसहित प्रस्तुत गर्छन्।
“म रातारात हिट हुन वा हराउन आएको होइन। म लामो यात्राको तयारीसहित फिल्म क्षेत्रमा आएको हुँ,” उनले भने।
फिल्ममा बेनिशा हमाल र अर्पण थापा मुख्य भूमिकामा छन्। कथा यी दुई पात्रको वरिपरि घुम्ने निर्देशकले बताएका छन्। स्थापित कलाकारहरूको बाक्लो उपस्थितिका बाबजुद भूमिकालाई लिएर कुनै विवाद नभएको र सबै कलाकारले आफ्नो चरित्रमा नयाँपन पाएको चौहानको दाबी छ।
उनका अनुसार फिल्मले प्रेम, धोका र बदलाको विषयलाई नयाँ शैलीमा प्रस्तुत गरेको छ। पात्रहरूको संवेदनशील मनोभावले दर्शकलाई फरक खालको सिनेम्याटिक अनुभव दिने अपेक्षा गरिएको छ।
फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन्। बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्मा देखिएका छन्।
स्काइफल पिक्चर्सको प्रस्तुति रहेको फिल्ममा भोलानाथ कटुवाल र रमन ग्रे सह–निर्माता छन्। कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल छन्।
छायांकन नरेन्द्र मैनाली, मुख्य सहायक निर्देशन आकाश उखेडा, प्रोडक्सन डिजाइन रेलिजा श्रेष्ठ र निर्माण नियन्त्रक दिलीप पन्त रहेका छन्।
निर्देशक बलिराम चौहानका लागि ‘द ब्लू लाइट’ पहिलो निर्देशन हो।