काठमाडौं। नेपाली फिल्म ‘कल्ली’ को निर्धारित प्रदर्शन मिति स्थगित गरिएको छ। निर्माण कम्पनी लेकाली इन्टरटेनमेन्ट प्रा.लि. ले वर्तमान राष्ट्रिय निर्वाचनको परिवेशलाई ध्यानमा राख्दै फिल्मको रिलिज सार्ने निर्णय गरेको जानकारी दिएको हो।
फिल्मलाई आगामी फागुन १ गते देशभर प्रदर्शन गर्ने तयारी थियो। तर, राष्ट्र निर्वाचन प्रक्रियामा केन्द्रित रहेको संवेदनशील समयमा दर्शकको ध्यान, राज्यको प्राथमिकता तथा समग्र वातावरणलाई मध्यनजर गर्दै प्रदर्शन रोक्ने निर्णय गरिएको निर्माता किरण नेपालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
निर्माण पक्षले “पहिले देश, अनि मात्र कला र मनोरञ्जन” भन्ने मान्यतासहित राष्ट्रिय जिम्मेवारीलाई प्राथमिकता दिएको जनाएको छ। निर्वाचनपछिको राजनीतिक स्थिरता र सहज वातावरण बनेपछि ‘कल्ली’ को नयाँ प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिने बताइएको छ।
निर्माता पक्षले छोटो प्रतीक्षाले फिल्मलाई अझ सशक्त रूपमा दर्शकमाझ ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै दर्शक, चलचित्रकर्मी र सञ्चारकर्मीप्रति आभार प्रकट गरेको छ।
फिल्म ‘कल्ली’ प्रदर्शनअघि नै दर्शकमाझ उत्सुकताको विषय बनेको थियो।