काठमाडौँ, माघ २३ । आगामी माघ २३ गते प्रदर्शनमा आउँदै गरेको फिल्म ‘रमिताको पिरती’ सार्वजनिक ट्रेलरले नै दर्शकमाझ उत्सुकता बढाएको छ। नेपाली फिल्ममा प्रायः लिड रोल पुरुष पात्रमा केन्द्रित हुने भए पनि यस फिल्मको कथा रमिताको जीवन र भावनात्मक यात्रामा केन्द्रित छ।
फिल्ममा मुख्य भूमिका आना शर्माले निभाएकी छिन्। उनीसँगै धिरज मगर र विनय श्रेष्ठले अभिनय गरेका छन्। यसै फिल्मबाट गायक समीर श्रेष्ठले पनि अभिनयमा डेब्यु गरेका छन्। फिल्मका अधिकांश घटना यी तीन पात्रको वरिपरि घुमेको छ।
आना केवल अभिनेत्री मात्र नभएर कार्यकारी निर्माताको भूमिकामा पनि रहेको छिन्। उनले फिल्मको कथा ब्रेकअपपछि आत्मखोज, आत्मसम्मान र आत्मस्वीकृतिको यात्रामा केन्द्रित रहेको बताइन्। आना अनुसार, “फिल्म केवल ब्रेकअपको कथा नभई त्यसपछि आउने भावनात्मक उतार–चढाव, आत्मसाक्षात्कार र निर्णयको यात्रा हो। हामीले नियमित फिल्म भन्दा फरक शैलीमा फिल्म तयार गर्ने प्रयास गरेका छौँ।”
आनाले आफ्नो पात्र ‘रमिता’ विकास गर्न निर्देशक सुदिप्तासँग करिब छ महिना काम गरिन्। उनले भनिन्, “निर्देशकसँग बसेर मैले रमिताको भावनात्मक यात्रा डेभलप, एक्सप्लोर र एडाप्ट गरेकी थिएँ। फिल्म रिलिजको बेला आउँदा निकै उत्साहित छु। यो फिल्म, पात्र र भूमिका दुवै खास छन्, र दर्शकसम्म पुग्नेछ भन्ने आशा छ।”
फिल्म निर्माणको सुरुवाती चरणमा आना केवल कलाकारको रूपमा स्क्रिप्ट पढेर आबद्ध भएकी थिइन्, पछि निर्देशक सुदिप्ता र निर्माता सागर लम्सालसँग नजिक काम गर्दै कार्यकारी निर्माता बनीन्। उनले अनुभव सुनाउँदै भनिन्, “जिम्मेवारी धेरै हुन्छ, तर क्रिएटिभ फ्रिडम पनि उत्तिकै रमाइलो छ।”
आनाले भनिन् कि फिल्मले युवा पुस्ता र युवतीहरूलाई लक्षित गर्दै महत्वपूर्ण सन्देश दिनेछ। “पहिला आफूलाई माया गर्नुपर्छ, आफूलाई केयर गर्नुपर्छ, अनि मात्र अरूलाई माया दिन सकिन्छ भन्ने सन्देश फिल्मले दिन्छ। फिल्मले सामाजिक सञ्जाल, बाह्य स्वीकृतिको खोजी र त्यसले मानसिक स्वास्थ्यमा पार्ने प्रभावलाई पनि देखाउँछ,” उनले भनिन्।
फिल्मका प्रेम सम्बन्धलाई गीतमार्फत प्रस्तुत गरिएको छ, जसले प्रेमको सुरुका चरण र पात्रहरूबीचको कनेक्शनलाई दर्शाउँछ। आना अनुसार ‘रमिताको पिरती’ उनको लागि विशेष छ, किनभने यो पूर्ण रूपमा महिला केन्द्रित कथा, महिला निर्देशकद्वारा लेखिएको र निर्देशित फिल्म, र पहिलो पटक कार्यकारी निर्माताको भूमिकामा उनको यात्रा हो।
फिल्ममा सन्तोष लम्साल कार्यकारी निर्माता, सुवास कोइराला सह-निर्माता, र सागर लम्साल निर्माता रहेका छन्। संगीतमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको योगदान छ। शिशिर विषंखे डीओपी, सम्पादन सुनिल सिवाकोटी, कलर कपिल पराजुली र कोरियोग्राफी कृतिका बरालले गरेका छन्।
काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, उपत्यका बाहिर एफडी कम्पनीले फिल्म वितरण गर्नेछन्।