माघ २३ गते प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘कुमारी’को टिमले युवापुस्तासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले विशेष छलफल कार्यक्रम आयोजना गरेको छ।
“नेपाली फिल्म, सङ्गीत र मिडियाबाट युवा पुस्ताले के अपेक्षा राखेका छन्?” भन्ने विषयमा केन्द्रित उक्त कार्यक्रम काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित डबलीमा सम्पन्न भयो।
कार्यक्रममा विभिन्न क्याम्पसका विद्यार्थी तथा युवा सहभागी गरी करिब ५ सय जनाको उपस्थिति रहेको थियो। कार्यक्रममा फिल्म ‘कुमारी’को टिमसँगै मदन पुरस्कार विजेता लेखक अमर न्यौपाने, सञ्चारकर्मी नरेश भट्टराई, निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता महेन्द्र अधिकारी, गायक केहर सिंह लिम्बु र उनका ब्यान्ड सदस्यहरूको उपस्थिति थियो।
छलफलमा ३० जना युवाहरूले नेपाली फिल्म, सङ्गीत र मिडियाबारे आफ्ना धारणा खुलेर राखे। उनीहरूले यस्ता कार्यक्रमले आफ्ना विचार व्यक्त गर्न अवसर दिएकोमा खुसी व्यक्त गरे।
युवाहरूले निर्देशक दिनेश राउतका अघिल्ला फिल्महरूको प्रशंसा गर्दै फिल्मलाई जीवन बुझ्ने माध्यमको रूपमा चित्रण गरे। उनीहरूको भनाइ थियो,
“हामी फिल्म हलमा समय बिताउन मात्र जाँदैनौँ। फिल्मले हाम्रो संस्कृति देखाउनुपर्छ, मौलिकता हुनुपर्छ।”
सामाजिक सञ्जाल युवामाझ सबैभन्दा प्रभावशाली माध्यम बनेको उल्लेख गर्दै कतिपय समीक्षामा हुने अतिरञ्जनाप्रति चिन्ता व्यक्त गरियो। सहभागी युवाहरूले नेपाली फिल्मले अपेक्षित स्तर नपुगेको गुनासो गर्दै राम्रो कन्टेन्टका लागि विदेशी फिल्मतर्फ आकर्षित हुनुपरेको अनुभव सुनाए।
सङ्गीतबारे युवाहरूको धारणा स्पष्ट थियो:
“गीतमा हिरो–हिरोइनको लुक्सभन्दा पनि भावना चाहिन्छ। सङ्गीत मनोरञ्जनका लागि मात्र होइन, जीवनसँग जोडिन सक्नुपर्छ।”
फिल्म ‘कुमारी’को चर्चित गीत **‘डोको बुन्ने’**ले मौलिक सङ्गीतको ‘एसेन्स’ बोकेको भन्दै युवाहरूले प्रशंसा गरेका थिए।
फिल्मका डेब्यु कलाकार अभिषेक खड्काले आफू पनि पहिले पश्चिमी फिल्मबाट बढी प्रभावित भए पनि पछिल्लो समय नेपाली फिल्मले उल्लेखनीय प्रगति गरेको बताए। उनले ‘कुमारी’ नयाँ पुस्ताको स्वादअनुसार बनेको दाबी गर्दै दर्शकलाई हलसम्म पुग्न आग्रह गरे।
सञ्चारकर्मी नरेश भट्टराईले सामाजिक सञ्जालमा देखिने सामग्रीलाई विवेकपूर्वक बुझेर मात्र विश्वास गर्न युवालाई सुझाव दिए। लेखक अमर न्यौपानेले साहित्य र फिल्मबीचको सम्बन्ध स्पष्ट पार्दै भने,
“किताब कलमले लेखिएको साहित्य हो भने, फिल्म क्यामेराले लेखिएको साहित्य हो।”
लेखक विकास सुवेदीले युवामा बढ्दो निराशा देशका लागि घातक हुनसक्ने चेतावनी दिए। उनले ‘कुमारी’ले नेपाली फिल्मप्रतिको निराशा कम गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार,
“यो सामान्य प्रेमकथा होइन। बाहिरबाट जस्तो देखिन्छ, भित्र कथा फरक छ। ट्रेलरले देखाएकोभन्दा धेरै कुरा फिल्ममा छ।”
निर्देशक दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘कुमारी’बाट अभिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायत कलाकारहरूको अभिनय रहेको छ।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन्। छायाङ्कन सुसन प्रजापति, सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुली, साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनको रहेको छ भने कार्यकारी निर्माता केदार भुसाल हुन्।
फिल्मका गीतहरू **‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’**ले दर्शकमाझ चर्चा पाइसकेका छन्। विशेषगरी ‘डोको बुन्ने’ गीतले ७२ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ। फिल्मका सबै गीतमा केहर सिंह लिम्बुको स्वर रहेको छ।
प्रेमकथामा सफल पहिचान बनाइसकेका निर्देशक दिनेश राउत सामाजिक विषयपछिको पुनः प्रेमकथामा फर्किएको ‘कुमारी’ले स्वदेश तथा विदेशका दर्शकको मन जित्ने विश्वास निर्माण टिमले लिएको छ।