पूर्वी नेपालमा ‘कुमारी’मय माहौल: केहरको गीत र अबिषेक र आकृतिको नृत्यमा झुम्यो पूर्व, गृह नगरमा भावुक बने अबिषेक

0 Shares

माघ २३ गते प्रदर्शनको तयारीमा रहेको वर्षकै प्रतीक्षित प्रेमकथामा आधारित फिल्म ‘कुमारी’**ले आफ्नो प्रचार अभियानलाई आक्रामक र भव्य बनाएको छ। काठमाडौंको भृकुटीमण्डपमा १० हजारभन्दा बढी दर्शकमाझ ट्रेलर सार्वजनिक गरेलगत्तै फिल्मको टोली पूर्वी नेपालको प्रचार यात्रामा निस्किएको हो।

प्रचारका क्रममा मोरङको मधुमल्ला बजारमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ भव्य रूपमा सम्पन्न भएको छ। भगवती माध्यमिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा करिब २ हजार दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रममा फिल्मका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारीले सुपरहिट गीत **‘डोको बुन्ने’**मा लाइभ नृत्य प्रस्तुत गर्दा दर्शकहरू पनि उनीहरूसँगै झुमेका थिए। त्यसैगरी पार्श्वगायक केहर सिंह लिम्बुले ‘डोको बुन्ने’, ‘तिमी बिना’ र ‘कता छौ’ लगायत गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध पारे। चिसो मौसमका बाबजुद दर्शकहरू राति ११ बजेसम्म कार्यक्रमस्थलमा उपस्थित रहे।

यसैबीच, कलाकार अभिषेक खड्का शनिवार दिउँसो झापाको बिर्तामोडस्थित आफ्नै घर पुगेका छन्। अभिनेत्री आकृतिसहित गृह नगर पुगेका उनलाई आफन्त र छिमेकीले भव्य स्वागत गरेका थिए। लामो समयपछि घर फर्किएका अभिषेकले बुबासँग भेट गर्दा माहोल निकै भावुक बनेको बताइएको छ। डेब्यु फिल्मबाटै चर्चा बटुलिरहेका अभिषेक र आकृति दुवै सो क्रममा भावुक देखिएका थिए।

यसअघि काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा १० हजारभन्दा बढी दर्शकमाझ फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो। निर्देशक दिनेश राउतले ट्रेलरले पाएको सकारात्मक प्रतिक्रियाले आफू उत्साहित भएको बताए।

“दर्शकको प्रतिक्रियाले हामीलाई सिनेमा घरसम्म पनि यस्तै साथ मिल्ने विश्वास दिलाएको छ,” उनले भने।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेको फिल्म ‘कुमारी’ प्रेम, संघर्ष र पारिवारिक अन्तर्द्वन्द्वमा आधारित छ। अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा रहेको फिल्मका गीतहरू ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ यसअघि नै चर्चित भइसकेका छन्। विशेषगरी ‘डोको बुन्ने’ गीतले युट्युबमा ८५ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ।

फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की लगायत कलाकारको अभिनय रहेको छ। कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन्। छायाङ्कन सुसन प्रजापति, सम्पादन सुप्रिम पराजुली, तथा पोस्टर र पब्लिसिटी डिजाइन रोयल भीमसेनको रहेको छ। कार्यकारी निर्माता केदार भुसाल हुन्।

सम्बन्धित समाचार

सबै