चलचित्र पत्रकार दिनेश सिटौलाको ब्रेन ह्यामरेजबाट निधन

0 Shares

चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ। ब्रेन ह्यामरेजका कारण उनको आइतबार दिउँसो १२:४५ बजे काठमाडौंको टोखास्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनको सोही दिन साँझ पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। उनी ४५ वर्षका थिए र अविवाहित थिए।

सिटौला अछाम भ्रमणका क्रममा शुक्रबार बिहान करिब ९:३० बजे अचानक बेहोस भएका थिए। तत्कालै उनलाई जिल्ला अस्पताल पुर्‍याइए पनि अवस्था गम्भीर भएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत हुँदै काठमाडौं ल्याइएको थियो। उनलाई ग्रान्डी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो।

ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेका अनुसार गम्भीर सघन उपचारका बाबजुद ४८ घण्टासम्म पनि सिटौलाको न्यूरोलोजिकल अवस्थामा सुधार नदेखिएपछि चिकित्सकीय प्रोटोकलअनुसार ‘एप्निया टेस्ट’ गरिएको थियो। परीक्षणको नतिजा पोजेटिभ आएको, अर्थात् स्वतः श्वासप्रश्वास नभएको पुष्टि भएपछि उनको निधन घोषणा गरिएको अस्पतालले जनाएको छ।

डेढ दशकभन्दा लामो समयदेखि नेपाली फिल्म पत्रकारितामा सक्रिय सिटौलाले पछिल्लो समय फिल्मसम्बन्धी अनलाइन पोर्टल ‘The Cinema Times.com’ सञ्चालन गर्दै आएका थिए। उनी चलचित्र पत्रकार संघमा अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचित भइसकेका थिए।

उनको असामयिक निधनले नेपाली फिल्म पत्रकारिता क्षेत्र शोकमग्न बनेको छ।

सम्बन्धित समाचार

सबै