नेपाल फिल्म क्याम्पसमा ‘फिल्म कथा–लेखन’ कार्यशालाको दोस्रो संस्करण सम्पन्न

0 Shares

नेपाल फिल्म क्याम्पसको आयोजना तथा चलचित्र विकास बोर्डको सहयोगमा सञ्चालित “फिल्म कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशाला”को दोस्रो संस्करण माघ १७ गते सम्पन्न भएको छ।

काठमाडौंको पिंगलास्थान, गौशाला स्थित नेपाल फिल्म क्याम्पसमा आयोजित कार्यशालामा फिल्म कथा–लेखनमा रुचि राख्ने २५ जना प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। आयोजकका अनुसार कार्यशालाको मुख्य उद्देश्य कथा–लेखनमा रुचि राख्ने नवप्रवेशीहरूलाई फिल्मको कथात्मक संरचना, आधारभूत सिद्धान्त र लेखन प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गर्नु थियो।

कार्यशालामा भारतको फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (FTII)बाट पोस्ट–ग्र्याजुएट अध्ययन पूरा गरी हाल नेपाल फिल्म क्याम्पसमा निर्देशन तथा पटकथा लेखन विभाग प्रमुखका रूपमा कार्यरत केशव पाण्डेले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।

यसैगरी, पटकथा लेखक तथा पत्रकार सामिप्यराज तिमिल्सिनाले “नेपाली फिल्ममा कथा” शीर्षकमा विशेष सत्र सञ्चालन गरेका थिए।

कार्यक्रममा फिल्म कथा–विज्ञान, कथाका आधारभूत तत्व, पात्र निर्माण, संरचना र कथा लेखन प्रक्रियाबारे सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूले कार्यशालालाई उपयोगी, प्रेरणादायी र सिकाइमुखी भएको प्रतिक्रिया दिएका छन्।

आयोजकका अनुसार फिल्म कथा–लेखन सम्बन्धी कार्यशालाको तेस्रो संस्करण फागुन १६ गते सञ्चालन गरिनेछ।

सम्बन्धित समाचार

सबै