‘कुमारी’को साउन्डमा विशेष ध्यान: निर्देशक दिनेश राउतद्वारा हल टेक्निसियनलाई प्राविधिक पत्र

0 Shares

निर्देशक दिनेश राउतको प्रतीक्षित नेपाली फिल्म ‘कुमारी’ माघ २३ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। प्रदर्शनअघि निर्देशक राउतले देशभरका सिनेमा हल टेक्निसियन र प्रोजेक्सनिस्टहरूलाई फिल्मको ध्वनि गुणस्तरबारे विशेष प्राविधिक जानकारी पठाएका छन्।

निर्माण टिमका अनुसार ‘कुमारी’लाई अत्याधुनिक इमर्सिभ साउन्ड फर्म्याटमा मिक्सिङ गरिएको छ। दर्शकहरूले Dolby Atmos, DTS:X र AuroMax प्रविधि भएका सिनेमा हलहरूमा उत्कृष्ट सिनेम्याटिक अनुभव लिन सकून् भन्ने उद्देश्यले फिल्मको साउन्ड डिजाइन गरिएको हो।

निर्देशक राउतका अनुसार फिल्मको साउन्ड मिक्सिङ र मास्टरिङ ‘फेडर युनिट ५.५’ मा गरिएको छ। ध्वनिको प्राकृतिक उतारचढाव (डाइनामिक्स) जोगाउँदै दर्शकलाई यथार्थपरक ध्वनि अनुभव दिन यो स्तर कायम गरिएको उनले बताएका छन्।

निर्माण टोलीले प्रदर्शनअघि नै विभिन्न हलमा ५.५ फेडर युनिटमै ट्रायल शो सम्पन्न गरिसकेको जनाएको छ। फिल्मको प्रभावमा कमी नआओस् भन्ने उद्देश्यले हलहरूलाई ५.५ भन्दा कम भोल्युम युनिटमा प्रदर्शन नगर्न अनुरोध गरिएको निर्देशक राउतले जानकारी दिए।

पत्रमा उल्लेख छ,
“हामीले सिर्जनात्मक रूपमै ५.५ फेडर युनिटलाई आधार मानेर साउन्ड डिजाइन गरेका हौँ। दर्शकले उत्कृष्ट अनुभव प्राप्त गरून् भन्ने उद्देश्यले व्यावसायिक प्रदर्शनअघि एक पटक अनिवार्य टेस्ट रन गरिदिन अनुरोध गर्दछौँ।”

उच्च प्राविधिक मापदण्डमा तयार पारिएको ‘कुमारी’ले नेपाली फिल्मको ध्वनि प्रविधिमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ। फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन् भने महेन्द्र अधिकारी निर्माता हुन्। फिल्मलाई लिएर दर्शक र प्रदर्शक दुवैमा उत्साह देखिएको छ।

सम्बन्धित समाचार

सबै