‘डोको बुन्ने’ गीतले पार गर्‍यो १ करोड भ्युज, ‘कुमारी’लाई गर्ला त फाइदा?

0 Shares

काठमाडौं । निर्देशक दिनेश राउतको नयाँ नेपाली फिल्म ‘कुमारी’ भोलि शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ ।

यसको पूर्वसन्ध्यामा रिलिजअगावै सकारात्मक माहोल बनाउन सफल भएको छ। फिल्मको चर्चित गीत ‘डोको बुन्ने’ ले युट्युबमा १ करोडभन्दा बढी भ्युज पार गर्दै फिल्मप्रति दर्शकको चासो उल्लेखनीय रूपमा बढेको संकेत दिएको हो।

केहर सिं लिम्बुको स्वरमा रहेको उक्त गीतमा सागर लामिछाने मगर र सुमन तामाङको शब्द तथा सुमन र केहर एन्ड द लुङा ब्यान्ड को सङ्गीत रहेको छ।

यसअघि सार्वजनिक भएका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ गीतहरूले पनि सामाजिक सञ्जाल र म्युजिक प्लेटफर्महरूमा राम्रो प्रतिक्रिया पाइसकेका छन्, जसले फिल्मको संगीत पक्ष बलियो देखाएको छ।

रिलिजको पूर्वसन्ध्यामा ‘कुमारी’ ले देशभरका सिनेमा हलहरूबाट करिब २०० शो प्राप्त गरेको वितरक स्रोतले जनाएको छ। प्रारम्भिक शो संख्याले फिल्मले बक्स अफिसमा राम्रो ओपनिङ गर्ने अपेक्षा बढाएको छ।

प्रेमकथा, मानवीय संघर्ष र पारिवारिक अन्तर्द्वन्द्वलाई समेटिएको कथावस्तु निर्देशक राउतको शैलीअनुसार भावनात्मक प्रस्तुतिमा आधारित रहेको बताइएको छ।

फिल्ममार्फत अविषेक खड्का र आकृति राजभण्डारी ले मुख्य भूमिकामा डेब्यु गरेका छन्। सह–कलाकारहरूमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मा रहेका छन्।

विनिश इन्टरटेन्मेन्ट को ब्यानरमा महेन्द्र अधिकारी ले निर्माण गरेको ‘कुमारी’ मा विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ। कार्यकारी निर्माता केदार भुसाल हुन् भने पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनले तयार पारेका हुन्।

अब दर्शकको प्रतिक्रिया कस्तो आउँछ भन्ने कुराले ‘कुमारी’ को बक्स अफिस यात्राको दिशा तय गर्नेछ।

सम्बन्धित समाचार

सबै