बबिता मानन्धरको स्वरमा ‘कलियुगकी राधा’ सार्वजनिक, भिडियोमा आश्मा बिश्वकर्माको नृत्य

0 Shares

लोक–आधुनिक शैलीको गीत ‘कलियुगकी राधा’ सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा बरिष्ठ गायिकाहरू कुन्ति मोक्तान, सुक्मित गुरुङ, मोनिला सोताङ र देविका बन्दनाले संयुक्त रूपमा गीतको सार्वजनिक विमोचन गरेका हुन्।

गीतमा बबिता मानन्धरको स्वर, डिपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र कुमार केसीको मिक्सिङ रहेको छ। राजिव समरको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आश्मा बिश्वकर्मा र अभिषेक श्रेष्ठको आकर्षक नृत्य देख्न सकिन्छ। भिडियोको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन डिन्सन शाहले गरेका छन्। सुरेश मानन्धरद्वारा निर्मित गीत डान्सिङ बिटमा आधारित छ, जसले आधुनिक समाजको प्रेम, नारी भावना र सम्बन्धको यथार्थलाई उजागर गर्छ।

साढे दुई दशकदेखि निरन्तर संगीतकर्ममा सक्रिय गायिका बबिता मानन्धरको श्रुतिमधुर स्वरले गीतलाई थप भावनात्मक बनाएको छ। कार्यक्रममा बोल्दै मानन्धरले संगीतकार शंकर थापाको प्रशंसा गर्दै उनको संगीतमा स्वर दिनु चुनौतीपूर्ण भए पनि आफूले सक्दो उत्कृष्ट गाउने प्रयास गरेको बताइन्। शब्द र संगीतको संयोजनले गीत उत्कृष्ट बनेकोमा उनले विश्वास व्यक्त गरिन्।

कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गायिका कुन्ति मोक्तानले बबिता मानन्धरको स्वरको खुलेर प्रशंसा गर्दै उनी जुनसुकै जनराको गीतमा पनि न्याय गर्न सक्ने गायिका भएको बताइन्। यस्तै, सुक्मित गुरुङले बबिताको गायकी उच्चस्तरीय रहेको उल्लेख गर्दै ‘कलियुगकी राधा’ शब्द, संगीत र भिडियो सबै पक्षबाट सशक्त बनेको प्रतिक्रिया दिइन्।

मोनाेला सोताङले गीतले दर्शक–स्रोताको मन जित्ने विश्वास व्यक्त गरिन् भने देविका बन्दनाले चलचित्रका थुप्रै आइटम गीतमा बबिताको स्वर सुन्दै आएको र आज पनि उनको स्वरको गुणस्तर उस्तै रहेको बताइन्। संगीतकार शंकर थापाले नेपाली संगीतका अग्रज गायिकाहरूको हातबाट गीत सार्वजनिक हुनु गर्वको क्षण भएको बताए। मोडल आश्मा बिश्वकर्माले पनि दर्शकले गीत र भिडियो मन पराउनेमा आशावादी रहेको बताइन्।

 को हुन् बबिता मानन्धर ?

सुमधुर स्वरकी धनी गायिका बबिता मानन्धरले वि.सं. २०५७ सालमा प्रदर्शनमा आएको चलचित्र ‘चलचित्र’ बाट पार्श्व गायन यात्रा सुरु गरेकी हुन्। साढे दुई दशक लामो सांगीतिक यात्रामा उनले चाहन्छु म तिमीलाई, बाउन्सर, मेरी आम्मै लगायत झण्डै दुई दर्जन चलचित्रमा प्लेब्याक गायन गरिसकेकी छन्।

चलचित्रबाहेक अन्य जनरामा करिब पाँच दर्जन गीतमा स्वर दिएकी मानन्धर फिल्मी, आधुनिक, पप, लोकपप, भजनलगायत विविध जनरामा स्थापित भर्सटाइल गायिका हुन्। उनले नेपालीसँगै नेवारी, हिन्दी र बंगाली भाषामा पनि गीत गाएकी छन्।

‘भाग्य’ र ‘प्रेम’ नामक दुई नेपाली एल्बम सार्वजनिक गरिसकेकी मानन्धरको बंगाली एल्बम पनि बजारमा आइसकेको छ। ‘बाँधी दिए मायाको डोरीले’, ‘देउराली भाके हजुर’, ‘आत्मामा’ लगायत उनका तीन दर्जनभन्दा बढी गीत हिट छन्।

गायनसँगै गीतकार तथा संगीतकारसमेत रहेकी मानन्धरको संगीतमा अञ्जु पन्तले गाएको ‘आफ्नै सासको त छैन भर’ अत्यन्त लोकप्रिय छ। उनले भारत, चीन, बेलायत, सिंगापुर, दुबई, जापानलगायत देशहरूमा सांगीतिक प्रस्तुति दिइसकेकी छन्। उत्कृष्ट गायकीका लागि उनले अमिन राष्ट्रिय अवार्डसहित थुप्रै सम्मान प्राप्त गरेकी छन्।

सम्बन्धित समाचार

सबै