आगामी फागुन १ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बिगुल’ ले बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मसम्बन्धी विविध जानकारी सार्वजनिक गरेको छ। सम्मेलनका क्रममा नेपाल जेसिसले फिल्मको प्रवर्द्धनमा सक्रिय सहयोग गर्ने औपचारिक घोषणा गरिएको हो।
कार्यक्रममा ‘बिगुल’ का निर्माता दिनेश कोइराला र नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जीवन कार्की बीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। केही साताअघि सम्पन्न ‘बिगुल’ टिमको मोफसल प्रचार–प्रसार अभियानमा जेसिसको सहयोगले आफूहरूलाई थप ऊर्जा मिलेको निर्माता कोइरालाले बताए। ‘बिगुल’ का कथाकारसमेत रहेका कोइराला नेपाल जेसिसका पूर्व अध्यक्ष पनि हुन्। उनले देश र जनताको पक्षमा सन्देश बोकेको मनोरञ्जनात्मक फिल्म निर्माण गरिएको उल्लेख गर्दै सबै पक्षको सहयोग अपेक्षा गरे।
नेपाल जेसिसका अध्यक्ष जीवन कार्कीले वर्तमान नेपाली समाज, परिवार, राजनीति र युवाहरूको यथार्थ कथामा आधारित ‘बिगुल’ जस्तो चलचित्र सबै वर्ग र समुदायसम्म पुग्न आवश्यक भएकाले सहकार्य गरिएको स्पष्ट पारे। उनले फिल्मको सफलताको शुभकामना दिँदै यस्ता मौलिक र सन्देशमूलक विषयवस्तुका फिल्म निर्माणमा जोड दिनुपर्ने धारणा व्यक्त गरे।
फिल्मका निर्देशक रमेश कोइरालाले ‘बिगुल’ भुइँमान्छेको कथा भएको र वर्तमान राजनीतिक परिवेशसँग नजिकबाट मेल खाने भएकाले हरेक नागरिकले हेर्नुपर्ने चलचित्र भएको बताए। उनका अनुसार फिल्ममा मनोरञ्जनसँगै देश र माटोप्रतिको प्रेम झल्कने सशक्त सन्देश समेटिएको छ।
वरिष्ठ अभिनेता नीर शाहले वर्तमान समाजको यथार्थ कथामा आधारित यस्ता फिल्म कम बन्ने गरेको उल्लेख गर्दै ‘बिगुल’ को हिस्सा बन्न पाउँदा गर्व महसुस भएको बताए। अभिनेत्री बेनीशा हमालले आफूले फिल्ममा चुनौतीपूर्ण भूमिका निर्वाह गरेको बताउँदै ‘बिगुल’ अन्य फिल्मभन्दा फरक र देशप्रेमी कथा बोकेको चलचित्र भएको बताइन्। अभिनेता नरेन खड्काले फिल्ममा आफू युवा शक्तिको प्रतिनिधित्व गर्ने भूमिकामा देखिएको उल्लेख गर्दै सचेत र जागरुक दर्शकले फिल्म मन पराउने विश्वास व्यक्त गरे।
निर्माता कोइरालाका अनुसार ‘बिगुल’ मा नेपाली समाजका दबिएका आवाज, अन्याय सहेर बाँचिरहेका भुइँमान्छे, भविष्यप्रति चिन्तित युवा पुस्ता र संघर्षशील महिलाको चेतनालाई प्रतिनिधित्व गर्ने कथा प्रस्तुत गरिएको छ। मोफसल प्रचार अभियानका क्रममा दर्शक र नेपाल जेसिसबाट प्राप्त सहयोगले आफूहरूलाई थप उत्साहित बनाएको उनले बताए।
म्याग्नोलिया ग्रुपको ब्यानरमा कल्पना पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, सरोज खनाल, बिनोद न्यौपाने, रविन्द्र खड्का, शिशिर बाँडेल, गीता अधिकारी, जेएन घिमिरे, मानुसी शर्मा तथा नव अभिनेत्री मीरा पण्डितलगायतको अभिनय रहेको छ।
प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको फिल्मको छायांकन शिव ढकालले गरेका हुन्। गीतमा अर्जुन पोखरेल, विश्वप्रकाश शर्मा र मनोज चौलागाईंको संगीत रहेको छ भने कोरियोग्राफी कमल राई र कविराज गहतराजले गरेका छन्। महेश कोइराला र सूर्यकान्त कोइराला सह–निर्माता रहेको फिल्मको सम्पादन **तारा थापा ‘किम्भे’**ले गरेका छन्। द्वन्द्व निर्देशन एनबी महर्जनको रहेको फिल्म राजधानीमा काफिया फिल्म्स र मोफसलमा ब्याङ्केट्स इन्टरटेन्मेन्टले वितरण गर्दैछ।
