पर्यटन र चलचित्र विकास बोर्डबीच सहमति: नेपाललाई अन्तर्राष्ट्रिय छायांकन गन्तव्य बनाउने

0 Shares

काठमाडौँ – नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकनको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्ड र पर्यटन बोर्डले बुधबार आपसी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्।

समझदारी पत्रअनुसार, दुबै निकायले फिल्म छायांकन गन्तव्य प्रवर्धन गर्ने, स्थानीय अर्थतन्त्र सुदृढ पार्ने, रोजगार सिर्जना गर्ने र अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपालको सक्रिय सहभागिता सुनिश्चित गर्ने सहमति गरेका छन्।

बुधबार आयोजित कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। उनीहरूले यस सहकार्यले चलचित्र र पर्यटन क्षेत्रबीच दीर्घकालीन रणनीतिक समन्वयको ढोका खोल्ने विश्वास व्यक्त गरेका छन्।

दुवै निकायले विश्वभर लोकप्रिय बन्दै गएको **‘फिल्म पर्यटन’**लाई नेपालमा संस्थागत रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्। यस अन्तर्गत नेपाललाई अन्तर्राष्ट्रिय फिल्मिङ गन्तव्यका रूपमा ब्रान्डिङ गर्ने, फिल्ममा देखिएका स्थानलाई पर्यटन गन्तव्यको रूपमा प्रवर्धन गर्ने, स्थानीय अर्थतन्त्र सुदृढ गर्ने र रोजगार सिर्जना गर्ने काम अघि बढाइने छ।

सम्झौताअनुसार, सन् २०२६ मा हुने कान्स फिल्म फेस्टिभलमा सहभागिता, पोखरामा फिल्म फेस्टिभल आयोजना, अडियो–भिजुअल स्टोरीटेलिङ अभियान सञ्चालन तथा चलचित्र पर्यटनसम्बन्धी प्रवद्र्धनात्मक सामग्री उत्पादन गर्ने योजना तय गरिएको छ।

फिल्म पर्यटनमार्फत कम परिचित प्राकृतिक र सांस्कृतिक सम्पदायुक्त स्थानलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने विश्वास गरिएको छ। फिल्ममा देखिएका लोकेसन अवलोकन गर्न आउने पर्यटकले स्थानीय होटल, यातायात, गाइड तथा साना व्यवसायलाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै