दशकपछि निर्देशनमा  निर शाह, सुरु गरे मनोवैज्ञानिक ‘कमला मिस’

0 Shares

काठमाडौं, नेपाली फिल्म क्षेत्रका वरिष्ठ कलाकार तथा निर्देशक निर शाह एक दशकपछि निर्देशनमा पुनः सक्रिय हुनुभएको छ। उहाँले मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ फिल्म कमला मिस मार्फत निर्देशनमा कमब्याक गर्नुभएको हो।

शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विधिवत् शुभमुहूर्त सम्पन्न गर्दै फिल्मको छायांकन औपचारिक रूपमा सुरु गरिएको छ। ‘कमला मिस’ मानव मनोविज्ञानका सूक्ष्म आयामलाई केन्द्रमा राखेर निर्माण भइरहेको निर्माण पक्षले जनाएको छ।

फिल्ममा निर्देशक निर शाह स्वयंका साथै बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ र जयन्त रेग्मी मुख्य भूमिकामा देखिनेछन्। मुख्य सहायक निर्देशकका रूपमा सागर बोहरा कार्यरत रहनुभएको छ।

विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुति रहेको यस फिल्मका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान रहेका छन् भने लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) हुनुहुन्छ। फिल्मको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।

निर शाहले आफ्नो फिल्म यात्रा वि.सं. २०२४ सालमा हिरासिंह खत्री निर्देशित परिवर्तन बाट सुरु गर्नुभएको हो। उहाँले निर्देशन गरेका ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ नेपाली फिल्म इतिहासका स्मरणीय कृतिका रूपमा चिनिन्छन्। अभिनयतर्फ उहाँको योगदान ३०० भन्दा बढी फिल्ममा फैलिएको छ।

उहाँ अभिनीत पछिल्लो फिल्म परान ले करिब १८ करोड रुपैयाँको बक्स अफिस कलेक्सन गर्दै उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको थियो। ‘कमला मिस’ मार्फत निर शाहले पुनः नेपाली दर्शकमाझ गहिरो वैचारिक संवाद स्थापित गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै