‘फ्रेन्ड्स सिनेमाज्’को तेस्रो शाखा इलाममा, शुक्रबारदेखि सञ्चालन

0 Shares

फ्रेन्ड्स सिनेमाज्ले आफ्नो तेस्रो शाखा इलाममा विस्तार गरेको छ। यसअघि धरान र बुटवलमा सञ्चालनमा रहेका हलपछि अब इलाम नगरपालिका–७ मा नयाँ शाखा सञ्चालनमा आउन लागेको हो।

फ्रेन्ड्स सिनेमाज्का निर्देशक आशिष एच तामाङका अनुसार करिब साढे तीन करोड रुपैयाँको लगानीमा निर्माण गरिएको यो सिनेमा घर आउँदो शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालन हुनेछ। एक स्क्रिन रहेको हलमा १९० सिट क्षमताको व्यवस्था गरिएको छ।

चलचित्र विकास बोर्डले शुक्रबारदेखि सञ्चालनका लागि अनुमति दिइसकेको तामाङले जानकारी दिए।

“ठूला सहरमै मात्रै सिनेमा घर सीमित हुँदा धेरै दर्शक हलसम्म पुग्न पाएका छैनन्,” तामाङले भने, “त्यसैले हामीले पहाडी जिल्ला इलामबाट साना तर सुविधासम्पन्न सिनेमा घर विस्तारको सुरुवात गरेका हौँ। यदि फिल्मको बजार विस्तार गर्ने हो भने काठमाडौं र ठूला सहरमा मात्रै होइन, हरेक जिल्लामा हल पुग्नुपर्छ।”

उनका अनुसार आगामी दिनमा अन्य जिल्लामा पनि सिनेमा घर विस्तार गर्ने योजना छ। घरेलु फिल्म बजार बलियो बनाउन सहरबाहिरका दर्शकलाई हलमा फिल्म हेर्ने अवसर दिनु अनिवार्य रहेको तामाङको धारणा छ। अहिले पनि धेरै जिल्लामा हलको अभावका कारण दर्शक फिल्म हेर्नबाट वञ्चित भइरहेकाले सानासाना सिनेमा घर सञ्चालनमा आए घरेलु बजार दोब्बरभन्दा बढी विस्तार हुनसक्ने उनले बताए।

सम्बन्धित समाचार

सबै