चर्चित गायक रामकृष्ण ढकालले निर्माण गरेको नेपाली कथानक फिल्म मालती मंगलेको प्रदर्शन मिति र आधिकारिक पोस्टर एकसाथ सार्वजनिक गरिएको छ। निर्माण पक्षका अनुसार फिल्म आगामी नयाँ वर्षको वैशाख २५ गते (मे ८) देखि नेपालभर प्रदर्शनमा आउनेछ।
सार्वजनिक पोस्टरले फिल्मको भावनात्मक मर्म, पात्रबीचको आत्मीयता र ग्रामीण परिवेशलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। पोस्टरमा मुख्य कलाकार विजय बराल र वर्षा राउत प्रेमिल र सहज मुद्रामा देखिन्छन्। विजय वर्षाको काखमा टाउको अड्याएर ढुक्क देखिएका छन् भने रातो ग्रामीण पहिरनमा सजिएकी वर्षा मुस्कानसहित उनको टाउकोमा टेकेर उभिएकी छन्। पोस्टर डिजाइनर विजय बस्यालको कलात्मक प्रस्तुतीले फिल्मले माटोको सुगन्ध बोकेको ग्रामीण प्रेमकथा वा सामाजिक कथ्य उठान गर्ने संकेत दिन्छ।
फिल्मका निर्देशक प्रकु पाण्डेयले यसलाई विशुद्ध नेपाली पारिवारिक प्रेमकथाका रूपमा परिभाषित गरेका छन्। “यो परिवारका सबै उमेर समूहले एकसाथ बसेर हेर्न सक्ने फिल्म हो,” उनले भने, “यसले हाम्रो समाजको एउटा बलियो पक्षलाई उजागर गर्ने प्रयास गरेको छ।” फिल्मको कथा निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका छन्।
रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन्। सह–निर्माताहरूमा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत रहेका छन्।
फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा देखिनेछन्। साथै प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मका छायाकार महेश पौडेल हुन् भने सम्पादन रोमी मोजेजको, रङ्ग संयोजन कृष्ण भण्डारीको र ध्वनि मिश्रण डिकेश खड्गीको रहेको छ। फिल्मको डिजिटल वितरक ओएसआर डिजिटल र थिएटर वितरक आरआर फिल्म्स हुन्।