काठमाडौं — नयाँ नेपाली कथानक फिल्म माया भनेकै यस्तो होलाको औपचारिक निर्माण घोषणा गरिएको छ। महाशिवरात्रिको शुभ अवसर पारेर आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रममा फिल्म सार्वजनिक गरिएको हो।
यस फिल्ममार्फत प्रभावशाली अभिनेत्री रेखा थापा करिब आठ वर्षपछि निर्देशनमा पुनरागमन गर्दैछिन्। ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी थापाको यो तेस्रो निर्देशकीय प्रोजेक्ट हो। यसपटक उनले आफ्नै ब्यानरभन्दा बाहिर रहेर दिया एण्ड अमु फिल्मस्को ब्यानरमा फिल्म निर्देशन गर्न लागेकी हुन्, जुन नेपाली फिल्म इतिहासमै स्थापित महिला निर्देशकले बाहिरी ब्यानरको फिल्म निर्देशन गरेको सम्भवतः पहिलो उदाहरण मानिएको छ।
फिल्ममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र अभिनेता दिल श्रेष्ठसँगै तीन पूर्व मिस नेपाल— सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह—मुख्य भूमिकामा देखिनेछन्।
निर्माण घोषणासँगै सार्वजनिक गरिएका दुई फर्स्ट–लुक पोस्टरले फिल्मको कथावस्तुबारे चासो बढाएको छ। पहिलो पोस्टरमा दिल श्रेष्ठसँग तीन अभिनेत्रीलाई देखाइएको छ, जहाँ रातो पहिरनमा सजिएका उनीहरूको हाउभाउले प्रेमका विभिन्न आयाम र सम्भावित प्रेम त्रिकोणको संकेत गर्छ। दोस्रो पोस्टरमा ह्विलचेयरमा रहेका मदनकृष्ण श्रेष्ठ र उनका हात समातेका दिल श्रेष्ठ भावुक मुद्रामा देखिन्छन्, जसले बुढेसकालको सहारा र सन्तानको कर्तव्यको कथा प्रस्तुत गर्छ।
फिल्मको शीर्षकले नै प्रेमको परिभाषा खोज्ने प्रयास गरेको देखिन्छ। एकातिर युवापुस्ताको प्रेम र अर्कोतिर बुढ्यौली अवस्थाको संवेदनशील सम्बन्धलाई समेटेर सबै उमेर समूहका दर्शकलाई लक्षित गरिएको निर्माण पक्षको भनाइ छ।
फिल्ममा लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र विनोद पौडेललगायत कलाकारहरूको पनि अभिनय रहनेछ। हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको फिल्मले प्रेमकथामार्फत सामाजिक भावनालाई केन्द्रमा राख्ने संकेत दिएको छ।
फिल्मका डिओपी सुदीप बराल हुन्। प्रमुख सहायक निर्देशक अनिरुद्ध आत्रेय, फिल्म कोअर्डिनेटर राजन घिमिरे, संगीत प्रशान्त सिवाकोटीको, ड्रेस डिजाइन सुजेनी मल्ल, मेकअप प्रिया कार्की र प्रोडक्सन सुमन तिवारीले सम्हालेका छन्। छायांकन फागुनको दोस्रो साताबाट सुरु हुने र आगामी वर्षको तीजको अवसर पारेर फिल्म प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।
पत्रकार सम्मेलनमा निर्देशक रेखा थापाले फिल्म हाम्रो समाजमै घट्ने वास्तविक कथामा आधारित रहेको बताइन्। “यो मेरो, तपाईंको र समाजले अनुभूति गरेका कथाहरूको प्रस्तुति हो,” उनले भनिन्। उनले दिल श्रेष्ठलाई क्षमतावान् कलाकारको रूपमा प्रशंसा गर्दै निरन्तरता दिएको भए उनी अझ स्थापित भइसक्ने धारणा व्यक्त गरिन्।
तीन पूर्व मिस नेपाललाई एकै फिल्ममा कास्ट गर्नुको कारण विषयवस्तुको माग भएको र केवल ‘मिस नेपाल’ ट्यागका आधारमा छनोट नगरिएको रेखाको स्पष्टोक्ति थियो। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले रेखाको निर्देशनमा काम गर्नु नयाँ संसारमा प्रवेश गरेजस्तै लागेको बताए भने कलाकार र अभिनेत्रीहरूले समेत सहकार्यप्रति उत्साह व्यक्त गरेका थिए। लेखक ध्रुव लम्सालले लामो समयपछि लेखनमा फर्किँदै स्क्रिप्टमा विशेष मिहिनेत गरिएको दाबी गरेका छन्।
