काठमाडौं — छायांकनमा निस्कन लागेको नेपाली फिल्म जिरो डिग्रीको व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक भएको छ। मङ्गलवार मुभिज् डिजीटेन्मेन्ट युट्युब च्यानलमार्फत रिलिज गरिएको गीतले समसामयिक राजनीति र नेताहरूको टालटुल व्यवहारप्रति व्यङ्ग्य प्रहार गरेको छ।
गीतमा अभिनेता विजय बराल र गायक अङ्कित बाबु अधिकारीको स्वर रहेको छ। संगीत पनि अङ्कित बाबु अधिकारीकै रहेको छ भने शब्द युवराज काफ्लेले लेखेका हुन्।
भिडियोमा विजय बराललाई आम नागरिकको दृष्टिकोणबाट विकास र निर्माणबारे प्रश्न सोध्दा नेताले दिने टालटुलो जवाफ र “यही हो विकास” भनी प्रस्तुत हुने प्रवृत्तिलाई व्यङ्ग्यात्मक शैलीमा देखाइएको छ।
फिल्म मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने यस चलचित्रको कथावस्तु मौलिक छ। दुर्गम गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान शव सुरक्षित राख्न ‘डीप फ्रिज’ लिएर आइपुग्दा उत्पन्न हुने उथलपुथलपूर्ण घटना तथा डार्क कमेडी शैलीमा फिल्म तयार हुँदैछ। निर्देशकका अनुसार कथा फ्रिज गाउँमा पुर्याउने घटनामा मात्र सीमित नभई समाजका गहिरा यथार्थलाई उजागर गर्ने प्रयास हो।
फिल्मको निर्देशन, पटकथा र संवाद आकास बराल र साजन काफ्लेले गरेका छन्। कथाकार राजन भुसालले अभिनय समेत गर्नेछन्। कार्यकारी निर्माता मोती कार्की हुन्।
छायांकन निशाल पौडेलले गर्नेछन् भने सम्पादन चानस मगर र कला निर्देशन रिक वेदले सम्हाल्नेछन्। पोस्टर र पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका हुन्। वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।