काठमाडौं — यो वर्षकै चर्चित नेपाली फिल्म रमिताको पिरती अब भारतका हलमा प्रदर्शन हुने भएको छ। इन्फिनिटी इभेन्ट एन्ड इन्टरटेनमेन्टले मार्चको दोस्रो साता देखि फिल्मलाई भारतमा रिलिज गर्ने जिम्मेवारी लिएको हो।
कम्पनीले रिलिजका लागि निर्मातासँग सहकार्य गरेको र भारतका युवा दर्शकले फिल्मको कथा र प्रस्तुति मन पराउने विश्वास राखेको जनाएको छ। निर्माता सागर लम्साल र इन्फिनिटीबीच हालै भारत रिलिजका लागि सम्झौता सम्पन्न भएको छ।
फिल्मले युवा प्रेम, बिछोड र आत्ममन्थनको कथालाई रोचक शैलीमा प्रस्तुत गरेको छ। नेपालमा दोस्रो हप्तामा प्रवेश गरेको यस फिल्मले यथार्थपरक कथा र ‘आफ्नो आत्ममाया गर्नु आवश्यक छ’ भन्ने सन्देशका लागि युवा दर्शकबाट प्रेरक प्रतिक्रिया पाएको छ।
इन्फिनिटीका प्रतिनिधिले भने, “रमिताको पिरतीले आजको युवाको प्रेम जीवनलाई सही ढंगले प्रस्तुत गरेको छ, जसलाई भारतीय दर्शक पनि सहजै रिलेट गर्न सक्नेछन्। राम्रो फिल्म धेरै दर्शकसम्म पुग्नु आवश्यक छ, र हामी यसलाई भारतभर पुर्याउन लागिपरेका छौँ।”
साथै, भारतका कुन शहर र हलमा रिलिज हुनेछ भन्ने जानकारी चाँडै सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
सुदिप्ताको निर्देशनमा बनेको यस फिल्ममा आना शर्मा मुख्य भूमिकामा छिन्। चलचित्रमा विनय श्रेष्ठ, धिरज मगर, समिर श्रेष्ठ, रेनु योगी लगायत कलाकारको अभिनय रहेको छ।
इन्फिनिटीले फिल्मको प्रदर्शनले नेपाली चलचित्रलाई सीमाभित्र मात्र नभई सीमाबाहिर पनि बजार विस्तार गर्न मद्दत पुग्ने अपेक्षा गरेको छ।