‘कुमारी’पछि महेन्द्र अधिकारीको आत्ममन्थन – “चलचित्र नाफा मात्र होइन, सामाजिक जिम्मेवारी पनि हो”

0 Shares

 नेपाली सिने बजारमा प्रायः दुई परिणामको अपेक्षा गरिन्छ—बक्स अफिसमा कमाइको वर्षा वा दर्शक–समीक्षकबाट वाहवाही। तर कहिलेकाहीँ समीक्षात्मक प्रशंसा र दर्शकको माया हुँदाहुँदै पनि निर्माता आर्थिक रूपमा घाटामा पर्छन्। यही यथार्थ भोग्यो हालै प्रदर्शनमा आएको फिल्म ‘कुमारी’ ले।

महेन्द्र अधिकारीका लागि ‘कुमारी’को व्यावसायिक असफलता लुकाउनुपर्ने विषय होइन, बरु सिकाइको पाठ बनेको छ। यसअघि प्रकाश जस्तो सशक्त फिल्म निर्माण गरेर छुट्टै पहिचान बनाएका उनी ‘कुमारी’को परिणामलाई परिपक्व व्यवसायीको दृष्टिले विश्लेषण गरिरहेका छन्।

उनको बुझाइमा चलचित्र एक व्यवसाय हो र व्यवसायको लक्ष्य नाफा नै हो। “यदि नाफा आएन भने कारण पहिचान गरेर तुरुन्त समाधान खोज्नुपर्छ,” उनी स्पष्ट भन्छन्। तर, उनी निराश छैनन्। उनका अनुसार व्यवसायमा कहिलेकाहीँ नाफारहित अवस्थासमेत ‘युनिभर्सल फ्याक्ट’ जस्तै स्वाभाविक हो।

निर्माता मात्र होइन, आशाको केन्द्र

चलचित्र असफल हुँदा त्यसको असर निर्मातामा मात्र सीमित हुँदैन। प्राविधिकदेखि कलाकारसम्म सबैको अपेक्षा निर्माता माथि केन्द्रित हुन्छ। लगानी डुब्दा आर्थिकसँगै मानसिक दबाब पनि थपिन्छ। तर अधिकारी विगतमा अड्किन चाहँदैनन्। “कमजोरी सच्याएर फेरि अगाडि बढ्नु नै सकारात्मक बाटो हो,” उनी आत्मविश्वासका साथ भन्छन्।

स्टार फर्मुला कि कथाको माग?

अहिले नेपाली बजारमा ‘स्टार कास्ट’ बिना फिल्म नचल्ने धारणा बलियो बन्दै गएको छ। तर अधिकारी यसलाई पूर्ण सत्य मान्न तयार छैनन्। उनका अनुसार कलाकारको छनोट स्टारडमका आधारमा होइन, कथाको मागअनुसार हुनुपर्छ। “कहिले स्थापित अनुहार चाहिन्छ, कहिले नयाँ। यो मेरो रोजाइ होइन, कथाको आवश्यकता हो,” उनी जोड दिन्छन्।

नाफाभन्दा ठूलो दायित्व

बजारले उनलाई ‘आँटिला निर्माता’ भन्छ। तर उनी यसलाई आफ्नो पेशाप्रतिको इमानदारिता र जिम्मेवारी मान्छन्। “चलचित्र निर्माण लगानी मात्र होइन, रहर र सामाजिक जिम्मेवारी पनि हो,” उनी भन्छन्।

‘कुमारी’लाई उनी विशुद्ध प्रेमकथाभन्दा बढी समाजले अझै सहजै स्वीकार गर्न नसकेको महिलाको संवेदनशीलताको कथा मान्छन्। व्यावसायिक रूपमा अपेक्षित सफलता नपाए पनि यसले उठाएको विषयलाई उनी आफ्ना लागि उपलब्धि नै ठान्छन्।

अन्ततः ‘कुमारी’को असफलताले उनलाई पछाडि धकेलेको छैन, बरु अझ जिम्मेवार र परिपक्व निर्माता बन्ने दिशामा उभ्याएको छ।

सम्बन्धित समाचार

सबै