मातृभाषी चलचित्र प्रवर्द्धनमा बोर्डको ठोस कदम: १४ जातीय संस्थासँग ४१ लाख ९५ हजारको सम्झौता

0 Shares

आदिवासी जनजाति र मातृभाषी चलचित्रको संरक्षण, तालिम र महोत्सवका लागि बजेट स्वीकृत

काठमाडौं। नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत चलचित्र विकास बोर्डले मातृभाषी तथा आदिवासी जनजाति चलचित्र प्रवर्द्धन समितिको सिफारिसमा १४ विभिन्न जातीय चलचित्र संघ–संस्थासँग सम्झौता गरेको छ।

सम्झौताअन्तर्गत कुल रु. ४१ लाख ९५ हजार बजेट स्वीकृत गरिएको छ। यस बजेट मार्फत मातृभाषी र आदिवासी चलचित्रको संरक्षण, संवर्द्धन र प्राविधिक क्षमता अभिवृद्धि गर्न तालिम, कार्यशाला र महोत्सव सञ्चालन गरिनेछ।

सम्झौताका प्रमुख कार्यक्रमहरूमा निर्देशन तालिम, सिनेमाटोग्राफी प्रशिक्षण, कथा लेखन तथा निर्देशन कार्यशाला, अभिनय र छायांकन तालिम, सांस्कृतिक संरक्षणसम्बन्धी तालिम, र आदिवासी जनजाति चलचित्र महोत्सव समावेश छन्। यी सबै कार्यक्रमहरू देशभरिका सक्रिय चलचित्रकर्मीहरूलाई लक्षित गरी सञ्चालन हुने बोर्डले जनाएको छ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यस कदमलाई समावेशी चलचित्र विकासतर्फको महत्वपूर्ण प्रयासको रूपमा व्याख्या गर्दै भन्नुभयो—

“नेपाल बहुभाषिक र बहुसांस्कृतिक देश हो। हाम्रो चलचित्र क्षेत्रले पनि त्यही विविधतालाई आत्मसात् गर्नुपर्छ। आदिवासी जनजाति तथा मातृभाषी चलचित्र प्रवर्द्धन गर्नु केवल सांस्कृतिक दायित्व मात्र होइन, हाम्रो राष्ट्रिय पहिचानको संरक्षण हो। बोर्डले सधैं समावेशी र सशक्त चलचित्र उद्योग निर्माणका लागि प्रतिबद्ध भएर काम गरिरहेको छ।”

बोर्डका अनुसार, यस पहलले स्थानीय भाषा, संस्कृति र समुदायका मौलिक कथा दस्तावेजीकरण गर्न सहयोग पुर्याउनेछ, साथै नयाँ पुस्ताका चलचित्रकर्मीलाई व्यावसायिक रूपमा सक्षम बनाउने अपेक्षा गरिएको छ।

देशभरका विभिन्न जातीय चलचित्र संघ–संस्थाहरूले बोर्डको यो निर्णयलाई सकारात्मक रूपमा लिँदै मातृभाषी चलचित्र निर्माणमा नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

सबै