विजय देवरकोन्डा र रष्मिका मन्दानाले आफ्नो विवाह औपचारिक रूपमा घोषणा गरेका छन्।
उनीहरूले आफ्नो विशेष दिनलाई ‘द वेडिङ अफ विरोस’ नाम दिएका छन्। ‘विरोस’ नाम फ्यानहरूले वर्षौंअघि उनीहरूको नाम जोडेर राखिदिएको संयूक्त नाम हो।
सामाजिक सञ्जालमा साझा गरिएको भावुक सन्देशमा दुवैले फ्यानप्रति कृतज्ञता व्यक्त गर्दै लेखेका छन्, “हामीले कुनै योजना बनाउनुअघि नै तपाईंहरू हाम्रो साथमा हुनुहुन्थ्यो। तपाईंहरूले हामीलाई ‘VIROSH’ नाम दिनुभयो। त्यसैले हाम्रो मिलनलाई तपाईंहरूको सम्मानमा यही नाम दिएका छौं।”
यो जोडी सन् २०२६ फेब्रुअरी २६ मा भारतको उदयपुरमा विवाह बन्धनमा बाँधिने तयारीमा छ। विवाह समारोह शहरको एक हेरिटेज दरबारमा सीमित पारिवारिक सदस्य र विशेष अतिथिको उपस्थितिमा आयोजना गरिने बताइएको छ।
स्रोतका अनुसार ‘द मेमेन्टोज बाई आईटीसी होटल्स’मा समारोह हुने सम्भावना बलियो छ।
फेब्रुअरी २४ देखि प्रि–वेडिङ कार्यक्रम सुरु हुनेछन्। सो दिन संगीत र मेहेन्दी, २५ मा हल्दी तथा २६ मा मुख्य विवाह समारोह सम्पन्न हुनेछ।
विवाहपछि हैदराबाद र मुम्बईमा छुट्टाछुट्टै रिसेप्सन आयोजना गर्ने तयारी समेत गरिएको छ।
फ्यानले वर्षौंअघि दिएको ‘विरोस’ नामलाई नै विवाहको औपचारिक शीर्षक बनाउँदै विजय–रश्मिकाले आफ्नो विशेष दिनलाई झन् भावनात्मक बनाएका छन्।