नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेतलाई कार्यक्रमको अतिथि बनाएको भन्दै होन्डा बाइकले आफ्नो प्रायोजन फिर्ता लिएको छ। होन्डा मोटरसाइकल “कमेडी नाइट विथ च्याम्पियन”को दोस्रो ठूलो प्रायोजक हो।
अतिथि बनाइएपछि होन्डाले शोको बारेमा चासो देखाउँदै कार्यक्रम प्रसारण नगर्न आग्रह गरेको थियो, तर कार्यक्रम सञ्चालन कम्पनीले सो अनुरोध अस्वीकार गरेको थियो। त्यसपछि होन्डाले आफ्नो प्रायोजन फिर्ता लिएको हो।
कार्यक्रमको ट्रेलर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यस विषयमा व्यापक चर्चा र टिप्पणी भएको थियो। कतिपयले महेश बस्नेतलाई अतिथि बनाएकोमा विरोध जनाएका थिए। तर कार्यक्रमका निर्माता एवं निर्देशक विशाल भण्डारीले स्पष्ट पार्दै भने कि उनीहरू कुनै पनि अतिथिको दल वा विचार हेरेर बोलाउने गर्दैनन् र परिवर्तनको पक्षमा रहेको बताएका छन्। साथै, अनावश्यक टिप्पणी वा गाली-गौज भएमा कानुनी उपचार खोज्न बाध्य हुने चेतावनी दिएका थिए।
कार्यक्रमका प्रमुख सञ्चालक तथा निर्माता–निर्देशक विशाल भण्डारीको महेश बस्नेतसँगको तस्बिर भाइरल भएको थियो। अतिथि बनाइएपछि होन्डाका प्रमुख कानुनी सल्लाहकारले कार्यक्रम प्रसारण रोक्न चेतावनी दिएका थिए, अन्यथा कम्पनीले प्रायोजन फिर्ता लिने जानकारी गराएका थिए। तर निर्माण पक्षले कार्यक्रम कुनै दल वा विचारको पक्षपोषक नभएको कारण प्रसारण रोक्ने योजना नभएको जनाएपछि होन्डाले आफ्नो प्रायोजन रद्द गरेको हो।
निर्माता एवं निर्देशक विशाल भण्डारीले मेरो पिक्चर डट कमसँग कुरा गर्दै होन्डा कम्पनीले आफ्नो प्रायोजन फिर्ता लिएको स्वीकार गरेका छन्। भण्डारीका अनुसार होन्डा कम्पनीले यस कार्यक्रमलाई लिएर हिमालयन टिभीसँग आपत्ति जनाएको थियो।
नेपाली टेलिभिजनको इतिहासमा सम्भवत् यो पहिलो पटक हो जब कुनै राजनीतिक व्यक्तिका कारण कुनै कार्यक्रमको प्रायोजन स्थगित गरिएको छ। होन्डाले प्रायोजन फिर्ता लिनेबित्तिकै कार्यक्रममा होन्डाको लोगो ब्लर गरेर प्रसारण गरिएको थियो।
यो कार्यक्रम ओएसआर रियालिटी च्यानलमा हेर्न सकिन्छ।