काठमाडौं, । नेपाली चलचित्रको इतिहास, कला र प्रविधिलाई भावी पुस्तासम्म सुरक्षित रूपमा संरक्षण गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले नेपाली चलचित्र सङ्ग्रहालयको औपचारिक सुरुआत गरेको छ। मंगलबार बोर्डको प्रेक्षालयमा आयोजित विशेष समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतको प्रमुख आतिथ्यतामा सङ्ग्रहालय उद्घाटन गरिएको हो।
उद्घाटन समारोहमा चलचित्रकर्मी तथा विभिन्न संस्थाहरूले नेपाली चलचित्र इतिहाससँग जोडिएका ऐतिहासिक क्यामेरा, क्यासेट, टेप, पोस्टर, आर्टवर्क, स्क्रिप्ट र अन्य संग्रहयोग्य सामग्री सङ्ग्रहालयलाई हस्तान्तरण गरेका थिए। सामग्री उपलब्ध गराउने व्यक्तित्व र संस्थाहरूलाई कार्यक्रममै सम्मान गरिएको थियो।
सङ्ग्रहालयलाई समृद्ध बनाउने उद्देश्यसहित विभिन्न चलचित्रकर्मी तथा संस्थाहरूले उल्लेखनीय योगदान दिएका छन्।
सिने फोकस प्रा.लि. (रजत बुढाथोकी) ले रेड क्यामेरा, क्लासिक सिने युनिभर्स प्रा.लि. (दिनेश महरा) ले सोनी EX3 क्यामेरा हस्तान्तरण गरेका छन्।
वरिष्ठ सम्पादक मानबहादुर थापाले सन् १९८० को पानासोनिक F10 क्यामेरा, सोनी कलर मोनिटर, नेशनल पानासोनिक क्यासेट टेप, अडियो–भिडियो उपकरण तथा अडियो मिक्सर उपलब्ध गराएका छन्।
म्युजिक नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक उत्तम थापाले १५२ नेपाली फिल्मका पोस्टर र आर्टवर्क प्रदान गरेका छन्।
त्यसैगरी ओ.एस.आर प्रा.लि.का रुपेन्द्र खड्गी, कान्तिपुर रेडियो, हाइलाइट्स नेपाल प्रा.लि., आईडियल डिजाईनर्स, ए वन जन सेन्टरलगायत संस्थाहरूले पनि पोस्टर, क्यासेट, आर्टवर्क तथा ऐतिहासिक क्यामेरा–ट्राइपोड प्रदान गरेका छन्।
वरिष्ठ छायाँकार पुरुषोत्तम प्रधानले आफू संलग्न ६३ नेपाली फिल्मका स्क्रिप्ट उपलब्ध गराएका छन् भने चलचित्रप्रेमी खुमराज पौडेलले ७०४ फिल्मका पोस्टर सङ्ग्रहालयलाई हस्तान्तरण गरेका छन्।
कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्र सङ्ग्रहालय स्थापना आफ्नो दीर्घकालीन सपना रहेको बताउँदै यसलाई “नेपाली फिल्मको आत्मा जोगाउने अभियान”का रूपमा व्याख्या गरे।
“नेपाली चलचित्रको इतिहास सम्झनामा मात्र सीमित नहोस् भन्ने सोचका साथ यो पहल गरिएको हो,” अध्यक्ष डिसीले भने। उनले सङ्ग्रहालयलाई भविष्यमा डिजिटल अभिलेखीकरण, अध्ययन र अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसमेत सार्वजनिक गरे।
कार्यक्रम बोर्ड सदस्य गणेश सुवेदीको मन्तव्यबाट सुरु भएको थियो। समारोहमा सेन्सर बोर्ड अध्यक्ष उदय बहादुर राना मगर, बोर्ड सदस्य राजु प्याकुरेल, वीरेन्द्र भट्ट तथा चलचित्रसम्बन्धी १३ संघ–संस्थाका अध्यक्षसहित विशिष्ट चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
चलचित्र विकास बोर्डले आगामी दिनमा थप चलचित्रकर्मी, संस्था र निजी सङ्ग्राहकहरूसँग सहकार्य गर्दै सङ्ग्रहालयलाई अझ व्यवस्थित र समृद्ध बनाउने जनाएको छ। नेपाली चलचित्र उद्योगको इतिहासलाई संस्थागत रूपमा जोगाउने यो पहललाई चलचित्रकर्मीहरूले ऐतिहासिक कदमको रूपमा स्वागत गरेका छन्।