जनकपुरधाम । मिथिलाको ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरधाममा दोस्रो जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ। “Stories Beyond Borders: Where Culture Meets Cinema” भन्ने नारासहित फागुन ८ गते सुरु भएको चारदिने महोत्सव फागुन ११ गते समापन भएको हो।
संवाद फाउन्डेसनद्वारा आयोजित महोत्सवमा ६५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म प्रदर्शन गरिए। समापन समारोहमा विभिन्न विधाका उत्कृष्ट फिल्मलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो।
अन्तर्राष्ट्रिय प्यानोरामातर्फ Cups (डेभिड कासाल्स–रोमा) उत्कृष्ट लघु कथानक घोषित भयो भने Drained by Dreams (शेख अल मामुन) उत्कृष्ट फिचर कथानक बन्यो। त्यस्तै Said Capillo (रोस्ताम नजरि) उत्कृष्ट लघु वृत्तचित्र, Hamar Ramlila (रिंकु शर्मा) उत्कृष्ट फिचर वृत्तचित्र र Fear/Starch (बार्तोज जार्जिकी) उत्कृष्ट एनिमेसन अवार्डबाट सम्मानित भए।
विद्यार्थी प्यानोरामा ‘Voices of Tomorrow’ अन्तर्गत Built on Hope (काथ्रिन एलिस कोभालेन्को) उत्कृष्ट वृत्तचित्र र Cats (डानिलो स्तानिमिरोभिच) उत्कृष्ट कथानक घोषित भए। क्षेत्रीय प्यानोरामामा Sakar Bakar (River Red) (विप्लव विश्वास) उत्कृष्ट लघु फिल्म बन्यो। नेपाली प्यानोरामातर्फ निलो आकाश (निर्मल पौडेल) उत्कृष्ट लघु कथानक र मित्क्पा (श्रीजन राज पाण्डे) उत्कृष्ट वृत्तचित्र घोषित भए।
महोत्सवका संयोजक तथा फाउन्डेसन अध्यक्ष कुमार भास्करले जनकपुरको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। उनले विदेशी चलचित्रकर्मीहरूलाई जनकपुरमा छायांकन गर्न निम्तो दिँदै यहाँको मौलिकता विश्व बजारमा पुर्याउन आग्रह गरे।
महोत्सव अवधिभर चलचित्र प्रदर्शनसँगै सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया तथा चलचित्र पर्यटनसम्बन्धी छलफल सत्रहरू सञ्चालन गरिएका थिए।