‘रमिताको पिरती’लाई तत्काल रोक नलगाउने पाटन उच्च अदालतको आदेश, प्रदर्शन जारी रहने

0 Shares

काठमाडौं । फिल्म रमिताको पिरतीलाई तत्काल प्रदर्शनमा रोक नलगाउने आदेश आएको छ। पाटन उच्च अदालतले यस फिल्मविरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइ गर्दै तत्काल अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो।

न्यायाधीश लालबहादुर कुँवरको एकल इजलासले चलचित्र विकास बोर्ड र निर्माता कम्पनी शिरो फिल्म्स प्रालिलाई बाटोको म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

केन्द्रीय चलचित्र जाँच समितिबाट जाँच भइसकेको अवस्थामा तत्काल अन्तरिम आदेश जारी गर्नु नपर्ने अदालतको ठहर रहेको छ। सोमबार निवेदनकर्ताका तर्फबाट अधिवक्ता सृष्टि भट्टलक्ष्मी तामाङले बहस गरेका थिए।

उनीहरूले फिल्मले पुरुषप्रति घृणा फैलाएको दाबी गर्दै प्रदर्शनमा रोक लगाउन मागसहित रिट दायर गरेका हुन्। उक्त मुद्दामा चलचित्र विकास बोर्ड, शिरो फिल्म्स प्रालि, कार्यकारी निर्मात्री अन्नपूर्ण शर्मा (आना शर्मा), लेखक सुदिप्ता अधिकारी र निर्माता सागर लम्साललाई विपक्षी बनाइएको छ।

फिल्म ‘रमिताको पिरती’ हाल देशभरका हलमा प्रदर्शनरत छ। अदालतको अन्तिम फैसला आउन भने अझै बाँकी रहेको छ।

सम्बन्धित समाचार

सबै