काठमाडौं — आगामी जेठ १५ गते प्रदर्शनमा आउने मितज्यू को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार सार्वजनिक गरेको पोस्टरले ग्रामीण परिवेश, सामाजिक द्वन्द्व र पारिवारिक तनावको संकेत दिएको छ।
पोस्टरमा मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगर देखिन्छन्। पहाडी पृष्ठभूमिमा गुडिरहेको जिपको अगाडि दयाहाङ र सौगातबीच पञ्जा जुधाउँदै शक्ति प्रदर्शन गरेको दृश्य छ। जिपको बोनटमाथि परम्परागत पहिरनमा गम्भीर मुद्रामा बसेकी तेरियाले कथामा केन्द्रिय द्वन्द्व संकेत गर्छिन्।
गाडीको हुटमा कोसेलीस्वरूप सुँगुर, राडीपाखी र तरकारी राखिएको छ भने छेउमा डोको र गाग्री देखिन्छ। यसले बसाइँसराइँ वा सामाजिक सन्दर्भको झल्को दिन्छ। पोस्टरले अहंकार, सम्बन्ध र टकरावको कथावस्तुप्रति कौतुहलता जगाउन सफल देखिन्छ। दुवै पात्रबीचको संघर्ष तेरियाका लागि हो वा अन्य कारणले हो भन्ने कुरा भने टिजर र ट्रेलरले स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
अनिल बुढा मगर को निर्देशनमा बनेको फिल्ममा दयाहाङ, सौगात र तेरियासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, सविन कट्टेल लगायत कलाकारको अभिनय रहनेछ। यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्।
फिल्ममा जनक घर्ती मगरको लगानी रहेको छ। जीएम मुभिज प्रोडक्सन को ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन लोकश बज्राचार्यले गरेका छन् भने छायांकन शिशिर बिशंखेले गरेका छन्। द्वन्द्व निर्देशन प्रभात विष्ट र साउन्ड डिजाइन नवीन श्रेष्ठको छ।
संगीत श्रीकृष्ण बम मल्ल को रहनेछ भने गीतमा मेलिना राई र लक्ष्मी मल्लको स्वर रहेको छ। कोरियोग्राफी मिङ्मा लेप्चाले गरेका छन्। वितरण आरआर फिल्म्स ले गर्नेछ।
निर्माण पक्षका अनुसार फिल्म आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर देशभर प्रदर्शनमा आउनेछ।