काठमाडौं – नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन १’ ले अन्तिम चरणका लागि उत्कृष्ट आठ प्रतियोगी छनोट गरेको छ।
एभेन्टोज डिजिटलले आयोजना गरेको यो शोले देशका विभिन्न जिल्लाबाट आएका प्रतिभाशाली गायक–गायिकालाई राष्ट्रिय मञ्चमा ल्याउने लक्ष्य राखेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार फिनाले चरणका लागि छनोट हुनेमा स्याङ्जाका लिलबहादुर थापा मगर, धादिङकी रितु कुमाल, धादिङका अमृत जर्घा मगर, दोलखाकी निशा लामा, बाँकेका मानव रावत क्षेत्री, चितवनका नरन पौडेल, कास्कीका अनिल चापागाईं र दोलखाका दीपक थापा मगर रहेका छन्।
कार्यक्रमको ग्रान्ड फिनाले चैत १७ गते काठमाडौंमा आयोजना हुने तय गरिएको छ।
आयोजकका अनुसार देशभरका जिल्लाबाट सहभागी भएका प्रतियोगीहरूले आफ्नो जिल्लाको प्रतिनिधित्व गर्दै नेपाली लोकदोहोरी संगीतलाई राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान दिएका छन्।
कार्यक्रमको मुख्य उद्देश्य नेपाली लोक संगीतका नयाँ प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्नु रहेको आयोजकले जनाएको छ।