‘लालिमा’मा रोश्नी र उषाको फरक अनुभव: एकको पहिलो शीर्ष भूमिका, अर्की पहिलो पटक ‘आमा’

0 Shares

काठमाडौं – आगामी फागुन २९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लालिमा’मा अभिनय गरेका नायिका रोश्नी कार्की र उषा रजकले यस फिल्ममा काम गर्दा पाएको फरक अनुभव सार्वजनिक गरेका छन्।

फिल्ममा रोश्नी कार्कीले पहिलो पटक शीर्ष भूमिका निर्वाह गरेकी छन्। उनको पात्रकै नामबाट फिल्मको शीर्षक ‘लालिमा’ राखिएको छ, जुन उनको अभिनय करिअरका लागि विशेष अनुभव बनेको उनले बताइन्।

रोश्नीका अनुसार शीर्ष भूमिकाको प्रस्ताव आउँदा आफूले यसलाई अवसर र चुनौती दुवै रूपमा लिएकी थिइन्।

उनले भनिन्, “मलाई शीर्ष भूमिकाको प्रस्ताव आउँदा चुनौती महसुस भएको थियो। फिल्म नै आफ्नो काँधमा लिएर हिँड्न सक्छु कि सक्दिनँ भन्ने डर पनि लागेको थियो।”

फिल्मका लागि आफूले पात्र निर्माणमा नयाँ अभ्यास गर्नुपरेको रोश्नी बताउँछिन्।

“यो फिल्ममा मैले यौनकर्मीको भूमिका निभाएकी छु। यौनकर्मीहरूलाई मैले पहिले नजिकबाट देखेको पनि थिइनँ। त्यसैले पात्र बुझ्नका लागि उनीहरूसँग भेटघाट गरेर अनुभव लिनुपर्‍यो,” उनले भनिन्।

फिल्ममा नायिका उषा रजक भने फरक क्षमताकी आमाको भूमिकामा देखिएकी छन्। उनको पात्र बोल्न नसक्ने (मूक) आमाको भूमिका हो।

उषाले यसअघि पनि फरक क्षमताको पात्र निर्वाह गरिसकेकी भए पनि करिब दुई दशक लामो अभिनय यात्रामा पहिलो पटक आमाको भूमिका स्वीकार गरेको बताइन्।

प्रायः ‘बोल्ड एन्ड ब्युटी’ छविमा देखिने उषा यस पटक भने क्यारेक्टर भूमिकामा प्रस्तुत भएकी छन्।

यसबारे उनले भनिन्, “सामाजिक सञ्जालमा ‘अब तपाईंले उमेरअनुसारको क्यारेक्टर गर्नुस्’ भन्ने प्रतिक्रिया आएको थियो। दर्शकको त्यही सुझावलाई मनन गरेर मैले आमाको भूमिका स्वीकार गरेकी हुँ।”

फिल्ममा यी दुई नायिकासँगै जीवन भट्टराई नायकका रूपमा छन्। साथै सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल पनि मुख्य भूमिकामा देखिनेछन्।

रोशन मिराजको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘लालिमा’को ट्रेलर अहिले युट्युब ट्रेन्डिङको चौथो स्थानमा रहेको छ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् भने नेसनल सिने ग्रुप नेपालले फिल्मको वितरण गर्दैछ।

सम्बन्धित समाचार

सबै