नारी दिवसमा ‘टिका’ घोषणा: ऋचा, वर्षा र महेश मुख्य भूमिकामा

0 Shares

काठमाडौं – अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नारीप्रधान नेपाली फिल्म ‘टिका (Stateless Soul)’ निर्माणको घोषणा गरिएको छ।

भविष्य खड्का फिल्मस् प्रा.लि.को प्रस्तुति तथा थर्ड आइ आर्ट्स प्रा.लि.को सहकार्यमा निर्माण हुने यस फिल्मलाई शंकर कार्कीले निर्देशन गर्नेछन्।

निर्माण घोषणासँगै सार्वजनिक गरिएको फिल्मको थीम पोस्टरमा ‘टिका’लाई रातो गोलाकारभित्र सेतो अक्षरमा लेखिएको छ। पोस्टरले फिल्ममा समेटिने संघर्ष, पराक्रम र नैतिक स्वच्छताको प्रतीकात्मक सन्देश दिने निर्माण पक्षले जनाएको छ।

नेपाली समाजमा महिलाले भोग्ने संघर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथा प्रस्तुत गर्ने उद्देश्यका साथ फिल्म निर्माण गर्न लागिएको बताइएको छ।

सुपरहिट फिल्म ‘जेरी अन टप’की निर्मात्री भविष्य खड्का निर्माता रहेको यस फिल्ममा अभिनेता महेश त्रिपाठी तथा अभिनेत्रीहरू ऋचा शर्मा र वर्षा शिवाकोटी मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्। फिल्ममा हाँस्य कलाकार निर्मल शर्मा र बाल कलाकार आयुशी ढकाल पनि प्रमुख भूमिकामा देखिनेछन्।

फिल्मका कार्यकारी निर्माता तेजविक्रम केसीका अनुसार अन्य कलाकार तथा प्राविधिकको छनोट प्रक्रिया जारी छ।

चन्दन झा र निर्देशक शंकर कार्कीको कथामा निर्माण हुने फिल्मको पटकथा रामकुमार श्रेष्ठले लेखेका हुन्।

कार्यकारी निर्माता केसीका अनुसार ‘टिका (Stateless Soul)’ले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिने अपेक्षा गरिएको छ।

उनले भने, “सशक्त कथा, उत्कृष्ट अभिनय र प्रस्तुतीकरणमार्फत दर्शकलाई फरक अनुभव दिने लक्ष्य छ।”

निर्माण टिमका अनुसार सम्पूर्ण कलाकार र प्राविधिक टोली तय भएपछि औपचारिक रूपमा फिल्मको छायांकन सुरु गरिने र त्यही समयमा प्रदर्शन मिति पनि घोषणा गरिनेछ।

सम्बन्धित समाचार

सबै