डोटीकी उदिप्ती रावल बनिन् ‘नेशन्स गट ट्यालेन्ट’ सिजन २ को विजेता,जितिन् १ लाख

0 Shares

एएनपी मिडिया हाउसद्वारा आयोजित बालबालिकाको डान्स रियालिटी शो ‘नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा)’ सिजन २ भव्य रूपमा सम्पन्न भएको छ। नेपालकै ठूलो किड्स डान्स रियालिटी शोका रूपमा परिचित प्रतियोगितामा डोटीकी उदिप्ती रावल विजेता बनेकी छन्। उनले उपाधिसँगै नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्।

ग्रान्ड फिनालेमा म्याग्दीकी सुप्रिया थापा फस्ट रनरअप घोषित भइन्। उनले नगद ६० हजार रुपैयाँ प्राप्त गरिन्। त्यस्तै, सोलुखुम्बुकी पाशाङ ल्हामु शेर्पा सेकेन्ड रनरअप बनिन् र उनले ४० हजार रुपैयाँ पुरस्कार पाइन्।

प्रतियोगितामा कालिकोटकी स्प्रीका शाही थर्ड रनरअप, भक्तपुरकी जलादि खड्का फोर्थ रनरअप र महोत्तरीकी श्रृयाना घिशिङ फिफ्थ रनरअप बने। उनीहरूलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। साथै भोटिङ पार्टनर एभेनतोज कम्पनीले सबै विजेतालाई थप १० हजार रुपैयाँ बराबरको शैक्षिक पुरस्कार पनि प्रदान गरेको छ।

कार्यक्रम ख्यातिप्राप्त हास्यव्यंग्यकार, अभिनेता, गायक तथा गीतकार मदनकृष्ण श्रेष्ठ र नृत्य निर्देशक वसन्त श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नृत्य निर्देशक कमल राई र नृत्य निर्देशक, फिल्म सम्पादक तथा निर्देशक राजु शाह विशिष्ट अतिथि थिए।

प्रत्येक आइतबार साँझ ६ बजे स्पेस फोरके टेलिभिजन र साँझ ७ बजे ओएसआर रियालिटी युट्युब च्यानलबाट प्रसारण हुँदै आएको यो रियालिटी शो २०८२ बैशाखदेखि सुरु भएको थियो। स्थानीय स्तरको अडिशनमा करिब १,८०० बालबालिकाले सहभागिता जनाएका थिए। तीमध्ये मेगा अडिशनबाट १८० जना, त्यसपछि टप ८० र टप ४० हुँदै ग्रान्ड प्रिमियरका लागि २३ जना छनोट गरिएको कार्यक्रमका निर्देशक तथा परिकल्पनाकार लबबहादुर कार्कीले जानकारी दिए। अन्ततः प्रतिस्पर्धा हुँदै टप ६ बीच ग्रान्ड फिनाले सम्पन्न भएको थियो।

कार्यक्रममा लोमशबहादुर कार्की र लबिस कुमार कार्कीको इभेन्ट म्यानेजमेन्ट, शम्भु प्रसाद रेग्मीको संयोजन तथा प्रनीमा दाहालको कार्यक्रम सञ्चालन रहेको थियो।

निर्णायकको रूपमा अभिनेत्री मिथिला शर्मा, अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना र ‘छमछमी’ नृत्य प्रतियोगिताका विजेता सरोज प्रजा रहेका थिए। भोटिङ राउन्डमा अभिनेता मदनकृष्ण श्रेष्ठ, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, नृत्य निर्देशक बसन्त श्रेष्ठ, कमल राई, राजु शाह र कबिराज घहतराज अतिथि निर्णायकका रूपमा सहभागी भएका थिए।

कार्यक्रमको मुख्य प्रायोजक वल्र्ड लिंक थियो भने प्रायोजकहरूमा नेपाल एयरलाइन्स, ल्याबोरेटरी स्कुल, मदरल्याण्ड सेकेन्डरी स्कुल, रितम्भरा कलेज तथा स्कुल रहेका थिए। फेसियल हाउस मेकअप, फेमिली क्लोथ तथा स्ट्यान्डर टेलर्स क्लोथिङ पार्टनरका रूपमा सहभागी थिए।

एएनपी मिडिया हाउसकी प्रशासन प्रमुख अनीता तामाङका अनुसार आगामी वर्ष २०८३ बैशाखदेखि ‘नेशन्स गट ट्यालेन्ट’मा नृत्यसँगै गायन रियालिटी शोका लागि पनि स्थानीय स्तरबाट अडिशन सुरु गरिनेछ।

सम्बन्धित समाचार

सबै