वरिष्ठ कलाकार तथा निर्देशक निर शाह को निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कमला मिस’ को छायांकन सम्पन्न भएको छ।
निर्माण पक्षका अनुसार फागुन १ गतेदेखि सुरु गरिएको चलचित्रको सम्पूर्ण सुटिङ मंगलबार सकिएको हो। लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) का अनुसार चलचित्रको छायांकन करिब २३ दिनमै पूरा गरिएको हो। बीचमा चुनावका कारण तीन दिन छायांकन स्थगित भए पनि निर्धारित तालिकाभित्रै काम सम्पन्न गरिएको उनले बताए।
मनोवैज्ञानिक कथावस्तुमा आधारित ‘कमला मिस’ मा निर्देशक निर शाहसहित रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडा लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।
यो चलचित्र विजय मल्ल स्मृति प्रतिष्ठान का लागि उमा मल्ल ले निर्माण गर्नुभएको हो। चलचित्रका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् भने लाइन प्रोड्युसर पुष्कर लामा रहेका छन्। चलचित्रको कथा प्रसिद्ध नाटककार विजय मल्ल को हो। पटकथा तथा संवाद निर्देशक निर शाह र प्रजल दुलाल ले संयुक्त रूपमा तयार पारेका हुन्।
प्राविधिक पक्षतर्फ चलचित्रमा शिवराम श्रेष्ठ को छायांकन, युग भुसाल को संगीत तथा रामजी लामिछाने को कोरियोग्राफी रहेको छ। निर्माण व्यवस्थापन भोला सुबेदी ले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सगर बोहरा हुन्।
करिब दश वर्षपछि निर्देशनमा फर्किएका निर शाह नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। उनले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन्।