निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’को टिजर सार्वजनिक गरिएको छ। फिल्म आगामी वर्ष वैशाख १, २०८३ मा नयाँ वर्षको अवसरमा प्रदर्शन हुने छ।
निर्देशक घिमिरेका अनुसार फिल्मले युवा पलायनले खाली भएका पहाड, र यसले ल्याउने सामाजिक र आर्थिक चुनौतीहरूलाई उजागर गरेको छ। उनले भने, “पहाड सुन्दर छ, तर पछिल्ला वर्षमा युवा पलायन भएका कारण उजाड बनेको छ। फिल्म यही सन्दर्भमा तयार भएको हो।”
फिल्ममा मदनकृष्ण श्रेष्ठ (‘बलिदान’), शिव श्रेष्ठ (‘चिनो’), सुनिल थापा लगायतका कलाकार छन्। छायांकन प्रमोद प्रधानले गरेका छन्, जसले भारतमा फिल्म, वेब सिरिज र टेलिफिल्ममा काम गरिसकेका छन्।
भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘पहाड’मा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरी लगायतका कलाकारको अभिनय छ। निर्देशक घिमिरेकी छोरी पञ्चमी घिमिरे यस फिल्ममार्फत अभिनेत्रीको रूपमा प्रस्तुत भएकी छन् भने जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइन सम्हालेकी छिन्।
संगीत निर्देशक रञ्जित सिंह गजमेर, नृत्य निर्देशन कविराज गहतराज र मिङमा डी लेप्चा, द्वन्द्व निर्देशन कुमार महर्जन, सम्पादन शङ्कर कोइराला र भारती घिमिरेले गरेका छन्। फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट, र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ।