पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोट मन्दिरमा शुभमुहूर्त गर्दै नेपाली डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायाङ्कन विधिवत् सुरु भएको छ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको पहिलो शटमा प्रकाश घिमिरे, विजय बराल, राजन भुसाल र शारदा सिलवालले अभिनय गरेका थिए।
निर्माण पक्षले जनाएको छ, चलचित्रको सम्पूर्ण छायाङ्कन कास्की जिल्लाको अर्मलाकोट र धिताल गाउँका रमणीय र मौलिक स्थानमा हुने छ। छायांकन तालिका ३५ दिनको निर्धारण गरिएको छ।
कथावस्तु अनुसार, सडक सञ्जाल नभएका विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शव सुरक्षित राख्न डीप फ्रिज बोकेर गाउँ उक्लिँदा उत्पन्न हुने रमाइला परिस्थितिहरूमा कथा घुम्नेछ। चलचित्रको व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ पहिले नै सार्वजनिक भइसकेको छ।
फिल्ममा विजय बराल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, राजन भुसाल, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, राम बाबु रेग्मी, सुवास गजुरेल, बासु खनाल लगायतका कलाकारहरूको अभिनय रहनेछ।
छायांकन निशाल पौडेल, सम्पादन चानस पुन मगर, रंग संयोजन राजेन्द्र मोक्तान, संगीत अङ्कित बाबु अधिकारी, शब्द रचना युवराज काफ्लेले गर्नेछन्। पब्लिसिटी डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले गर्नेछ। फिल्म वितरण कुबेर सिने डिस्ट्रिब्युसन (काठमाडौं बाहिर) र डीसीएन (उपत्यका) मार्फत हुनेछ।