काठमाडौं — निर्देशक राजेन्द्र बस्नेतको नयाँ फिल्म “कार्की साइँला” को छायांकन सम्पन्न भएको छ। निर्धारित समयभन्दा छिटो, केवल २१ दिनमै फिल्मको सुटिङ सकिएको निर्माण टिमले जनाएको छ।
धनकुटाबाट सुरु गरिएको छायांकन सुनसरीको चतहरा र बराहक्षेत्र आसपासका क्षेत्रमा गरिएको निर्देशक बस्नेतले जानकारी दिए। सुरुमा एक महिनाको सुटिङ तालिका तय गरिए पनि कलाकार र प्राविधिक टिमको मेहनतका कारण काम समयअगावै सम्पन्न भएको उनले बताए।
फिल्ममा जितु नेपाल, प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
यस फिल्ममार्फत जितु नेपाल र प्रियना आचार्य पहिलोपटक एकसाथ देखिँदैछन्। प्रियना यसअघि “झरिपछिको इन्द्रेणी” मा अभिनय गरेर चर्चा बटुलेकी थिइन्।
बालकुमार राईको निर्माण र कृष्ण भगत चाम्लिङको प्रस्तुतिमा बनेको यस फिल्म कर्णबहादुर फिल्म्स प्रालिको ब्यानरमा तयार हुँदैछ। फिल्मको मुख्य सहायक निर्देशक रोजल थापा रहेका छन् भने छायांकन डम्बर राईले गरेका हुन्।
फिल्ममा द्वन्द निर्देशन किरण दाहालले सम्हालेका छन् भने संगीत दिप्सन लिम्बुको रहेको छ। प्रोडक्सनको जिम्मा सीबी भण्डारीले लिएका छन्।
फिल्मको प्रदर्शन मिति भने हालसम्म घोषणा गरिएको छैन।