काठमाडौँ — फिल्म “लालीबजार” को पहिलो गीत “मायालाई के दिउँ म बैना” यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। षट्कोण आर्टस द्वारा निर्मित यस गीतले युट्युबदेखि टिकटक र फेसबुक रील्ससम्म दर्शकको ध्यान खिच्न सफल भएको हो।
गत फागुन २९ गते सार्वजनिक गरिएको गीतले छोटो समयमै लाखौँ भ्युज पाउँदै दर्शकमाझ लोकप्रियता कमाएको छ। विशेषगरी टिकटक र फेसबुक रील्समा गीतका स्टेपहरू ट्रेन्डिङ बनेका छन्।
गीतमा अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापा को नृत्यले विशेष चर्चा पाएको छ। उनीहरूले प्रस्तुत गरेको डान्स स्टेप अहिले हजारौँ प्रयोगकर्ताले हुबहु नक्कल गर्दै भिडियो बनाइरहेका छन्। कन्टेन्ट क्रिएटरहरूमाझ पनि यो गीत लोकप्रिय बनेको छ।
सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले स्वस्तिमा र समाइराको नृत्य शैलीसँगै गायक–गायिकाको स्वरको खुलेर प्रशंसा गरेका छन्। लोकभाकाको प्रयोग गरिएको भन्दै दर्शकले निर्माण टिमलाई धन्यवादसमेत दिएका छन्।
गीतको तयारीबारे बोल्दै अभिनेत्री स्वस्तिमाले छायांकनकै बीचमा अभ्यास गरिएको बताइन्। “दृश्य छायांकनबीच बचेको समयमा हामी नृत्य अभ्यास गर्थ्यौँ। समाइराको ऊर्जाले मलाई अझ राम्रो गर्न प्रेरित गर्यो,” उनले भनिन्।
गीतमा खेम सेन्चुरी र दीपिका बयाम्बु मगर को स्वर रहेको छ भने संगीत पनि खेमकै हो। शब्द रमेश बिजी ले लेखेका हुन् र कोरियोग्राफी प्रदीप लामा ले गरेका छन्।
निर्देशक यम थापा ले गीत कथासँगै अघि बढ्ने गरी तयार गरिएको बताए। “गीतलाई कथाभन्दा अलग होइन, कथालाई नै अगाडि बढाउने माध्यम बनाएका छौँ,” उनले भने।
बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्म “लालीबजार” मा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा लगायत कलाकारहरूको अभिनय रहेको छ। साथै, विशाल देवकोटा र प्रसंशा सुवेदीले यसै फिल्ममार्फत डेब्यु गर्दैछन्।
फिल्म आगामी वर्ष विसं २०८३ वैशाख १८ गते प्रदर्शनमा आउने तयारीमा रहेको छ।