‘मालती मंगले’को ‘सुनैको सपनी’ सार्वजनिक

0 Shares

काठमाडौं — चर्चित गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ। आगामी वैशाख २५ गतेदेखि प्रदर्शनमा आउन लागेको यस चलचित्रले सुरुदेखि नै दर्शकमाझ उत्सुकता जगाएको छ, विशेषगरी यसको सङ्गीत पक्षलाई लिएर।

रानी फिल्म्सको ब्यानरमा बनेको यस गीतमा आनन्द अधिकारीको शब्द, उज्ज्वल सागरको सङ्गीत तथा रामकृष्ण ढकाल र रचना रिमालको सुमधुर स्वर रहेको छ। उदयराज पौडेलको एरेन्जमेन्टमा तयार भएको गीतले ग्रामीण परिवेशमा आधारित निष्कपट प्रेमको कथा प्रस्तुत गर्दछ।

कार्यक्रमको सबैभन्दा मार्मिक क्षण भने तब देखियो, जब रामकृष्ण ढकालले सङ्गीतकार उज्ज्वल सागरलाई आफ्नो हस्ताक्षरसहितको गितार उपहार दिए। दृष्टिविहीन सङ्गीतकार सागरले उक्त सम्मान ग्रहण गर्दै चलचित्र टोलीसँगको सहकार्यप्रति खुसी व्यक्त गरे।

कार्यक्रममा बोल्दै ढकालले चलचित्रको शीर्षकका कारण उत्पन्न हुन सक्ने भ्रम स्पष्ट पार्दै यो कृति राष्ट्रकवि माधवप्रसाद घिमिरेको गीतिनाटकमा आधारित नभएको बताए। उनका अनुसार चलचित्रले समाजमै रहेको तर कम चर्चा गरिएको प्रेमकथालाई उजागर गर्दछ।

गीतकार आनन्द अधिकारीले गीतमा स्वार्थरहित प्रेमको भाव समेटिएको उल्लेख गर्दै गरिबले पनि समान रूपमा प्रेम गर्न सक्ने सन्देश दिन खोजिएको बताए। गायिका रचना रिमालले भने आफ्नो आवाजका लागि लामो समयसम्म पर्खिएकोमा निर्माता ढकालप्रति आभार व्यक्त गरिन्।

निर्देशक प्रकु पाण्डेयले आफ्नो पहिलो चलचित्रमै विश्वास गरेकोमा ढकालप्रति धन्यवाद व्यक्त गरे भने अभिनेत्री वर्षा राउतले यस्तो प्रतिष्ठित व्यक्तित्वसँग काम गर्न पाउनु आफ्नो लागि महत्वपूर्ण अवसर भएको बताइन्।

चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा रहेका छन्। साथै अन्य अनुभवी कलाकारहरूको पनि उल्लेखनीय अभिनय रहेको छ। चलचित्रको कथा निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका छन्।

सम्बन्धित समाचार

सबै