‘दशैं आयो’ बन्यो अस्कर कलेजको छोटो फिल्म प्रतियोगितामा पहिलो

0 Shares

शिल्पा केसीको निर्देशित छोटो फिल्म ‘दशैं आयो’ अस्कर कलेज अफ फिल्म स्टडिजले आयोजना गरेको छोटो फिल्म प्रतिस्पर्धामा प्रथम भएको छ।

जितसँगै फिल्मले १ लाख रुपैयाँ नगद पुरस्कार हात पार्‍यो।

प्रतिस्पर्धामा अर्जुन तिरुवाको द ब्रिज दोस्रो र विशाल झाको अन्तिम यात्रा तेस्रो स्थानमा रहे। दोस्रो स्थानले ५० हजार रुपैयाँ र तेस्रो स्थानले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

देवनन्दन मण्डलको पेपर बोन्ड्स स्पेसल मेन्सन घोषित भयो। विजेता घोषणाअघि अन्तिम छनोटमा परेका ९ वटा छोटा फिल्महरू प्रदर्शन गरिएको थियो।

२० वर्षमुनिका युवालाई लक्षित गरेर आयोजना गरिएको यस प्रतियोगितामा ८ देखि १५ मिनेटको समय सीमा भित्रका फिल्म पठाउन कार्तिकको पहिलो सातासम्मको समयसीमा तोकिएको थियो।

अस्कर कलेजका प्रधानाध्यापक रामराजा दाहालका अनुसार प्रतियोगितामा २० भन्दा बढी फिल्म प्राप्त भएका थिए, जसबाट उत्कृष्ट ९ वटा छनोट गरिएको थियो। उनले नयाँ प्रतिभालाई प्रोत्साहित गर्न र सिर्जनशील युवालाई अवसर प्रदान गर्न यो कार्यक्रमलाई निरन्तरता दिइएको बताए।

उनले भने, “फिल्म निर्माण अत्यन्तै सिर्जनशील विधा हो। युवाहरूको मस्तिष्क नयाँ र रचनात्मक हुने भएकाले हामीले उनीहरूलाई लक्ष्यित गर्दै यो प्रतियोगिता आयोजना गरेका हौं।”

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो, र स्पेसल मेन्सनमा पर्ने फिल्म निर्माताहरूले कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्ति समेत पाउने व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार

सबै