काठमाडौं — वास्तविक जीवनका पीडादायी अनुभवलाई कलात्मक ढंगले प्रस्तुत गर्दै नयाँ गीत ‘अधुरो सपना’को भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा भिडियो सार्वजनिक गरिएको हो, जहाँ कलाकार र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सामाजिक यथार्थलाई उजागर गर्ने उद्देश्यले निर्माण गरिएको यस भिडियोले दर्शकलाई भावनात्मक रूपमा झकझक्याउने विश्वास निर्माण टिमले लिएको छ। कार्यक्रममा कलाकारहरू रामचन्द्र अधिकारी, दमन रुपाखेती, तारा केसी, दिवाकर भण्डारी लगायतको उपस्थिति थियो।
गीतमा घिसिङ शरण ओमको स्वर रहेको छ भने संगीत निर्देशन अन्तज नकर्मीले गरेका हुन्। भिडियोमा सुरबीर पण्डित, लेखान्त भुसाल, यादव थापा, नवीन रेग्मी, विक्रम श्रेष्ठ, अर्जुन कार्की, कुमार गोले, सोमा घिसिङ, जेनिशा घिसिङ र अस्मिन थापासहितको अभिनय देख्न सकिन्छ।

गायक घिसिङ शरण ओमले आफ्नो जीवनमा घटेको वास्तविक घटनालाई भिडियोमार्फत प्रस्तुत गर्दै आफूले भोगेको अन्यायप्रति न्याय खोज्ने प्रयास गरेको बताएका छन्। उनका अनुसार, भिडियोमा देखाइएको घटना सत्यमा आधारित रहेको र यसले धेरै दर्शकको मन छुने अपेक्षा गरिएको छ।
संवाद लेखन अभिषेक गौतमले गरेका हुन् भने छायांकन बिशाल परियार र सम्पादन अशोक चौधरीले गरेका छन्। भिडियो रोलिङ किंग्स स्टुडियोमा तयार गरिएको हो र संगीत निर्माता रुजन श्रेष्ठ रहेका छन्।
निर्देशक लेखान्त भुसालले समाजका यथार्थ पक्षलाई कलात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरेको यस भिडियोले दर्शकलाई सोच्न बाध्य बनाउने विश्वास गरिएको छ। कार्यक्रममा उपस्थित अतिथिहरूले पनि घिसिङ शरण ओमले न्याय पाउनुपर्ने धारणा व्यक्त गरेका छन्। भिडियो ‘लेखान्त अफिसियल’ च्यानलमार्फत सार्वजनिक गरिएको छ।