काठमाडौं — भारतीय चलचित्र क्षेत्रका चर्चित निर्देशक, निर्माता तथा कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटन समारोहमा विशेष अतिथिका रूपमा सहभागी हुने भएका छन्।
निफका अध्यक्ष केपी पाठकका अनुसार सिप्पीको नेपाल आगमन निश्चित भइसकेको छ र उनले उद्घाटन कार्यक्रममा आफ्नो उपस्थिति जनाउनेछन्।
महोत्सवका क्रममा सिप्पीले भारतीय फिल्म उद्योगको यात्रा, आफ्नो फिल्मी अनुभव तथा निर्माण प्रक्रियाबारे नेपाली फिल्मकर्मी र दर्शकमाझ साझा गर्ने कार्यक्रम तय गरिएको छ।
अध्यक्ष पाठकले नेपाली र भारतीय फिल्मकर्मीबीच सहकार्य विस्तार गर्ने उद्देश्यले सिप्पीलाई निमन्त्रणा गरिएको बताउँदै उनको अनुभवले नेपाली फिल्मकर्मीलाई बलिउड बजारबारे महत्वपूर्ण जानकारी दिने विश्वास व्यक्त गरे।
दर्जनभन्दा बढी फिल्म निर्देशन गरिसकेका सिप्पीले बलिउडको चर्चित फिल्म ‘शोले’ निर्देशन गरेका हुन्, जसले उनलाई दिग्गज निर्देशकको रूपमा स्थापित गरेको छ।
उनको पछिल्लो निर्देशनमा बनेको फिल्म ‘सिम्ला मिर्ची’ सन् २०२० मा प्रदर्शनमा आएको थियो। साथै, उनले विभिन्न फिल्म निर्माण गर्नुका साथै केहीमा अभिनयसमेत गरेका छन्।
उनका फिल्महरूमा शाहरुख खान, अमिताभ बच्चन, सञ्जय दत्त, ज्याकी श्राफ, मिथुन चक्रवर्ती, ऋषि कपूर, धर्मेन्द्र र राजेश खन्ना लगायतका कलाकारहरूले अभिनय गरेका छन्।
नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत १९ गतेदेखि काठमाडौंमा आयोजना हुँदैछ। आयोजकका अनुसार महोत्सवमा ४० देशका ८८ वटा फिल्म प्रदर्शन गरिनुका साथै विभिन्न विषयमा १० वटा अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछन्।