‘मितज्यू’को ‘गैराघरे काँइली’ सार्वजनिक: दयाहाङ, सौगात र तेरियाले गरे धमाकेदार नृत्य

0 Shares

काठमाडौं — आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’को पहिलो गीत ‘गैराघरे काँइली’ सार्वजनिक गरिएको छ। आइतबार निर्माण टिमले सार्वजनिक गरेको यस गीतले रिलिजसँगै दर्शकमाझ उत्साह थपेको छ।

लोकलयमा आधारित गीतमा मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको छमछमी नृत्य देख्न सकिन्छ। तीनै कलाकारको ऊर्जा र तालमेलले गीतलाई अझ आकर्षक बनाएको छ। विशेषगरी, तेरियाको नृत्यले दर्शकको ध्यान तान्ने देखिन्छ।

श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वरमा रहेको यस गीतमा शब्द तथा संगीत पनि स्वयं मल्लकै रहेको छ भने एरेन्ज श्याम श्वेत रसाइलीले गरेका छन्। गीतको कोरियोग्राफी मिङ्मा डि लेप्चाले गरेका हुन्, जसले ग्रामीण लयलाई सुहाउँदो शैलीमा प्रस्तुत गरेका छन्।

निर्माता जनक घर्ती मगरका अनुसार फिल्मको कथाअनुसार नै गीत समावेश गरिएको हो। उनले गीतप्रति पूर्ण विश्वास व्यक्त गर्दै दर्शकले पनि यसलाई मन पराउने अपेक्षा राखेका छन्।

ग्रामीण परिवेश र पहाडी सामाजिक कथामा आधारित फिल्म ‘मितज्यू’लाई अनिल बुढा मगरले निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई र खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारहरूको अभिनय रहनेछ।

तेरिया मगरका लागि यो डेब्यु फिल्म हो, जसले उनको अभिनय यात्राको सुरुवात पनि संकेत गर्छ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मको सम्पादन लोकेश बज्राचार्यले गरेका छन् भने छायांकन शिशिर बिशंखेको रहेको छ। मुख्य सहायक निर्देशक फिरोज खड्का हुन् भने सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहेका छन्।

फिल्मको द्वन्द्व निर्देशन प्रभात विष्टले गरेका छन् भने साउन्ड डिजाइन नवीन श्रेष्ठको रहेको छ। आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।

सम्बन्धित समाचार

सबै